देश छोडेर भागेका राष्ट्रपति गनी कहाँ छन् ?


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ३२ २०७८
10.9K
SHARES

३२ साउन काठमाडौं । अफगानिस्तान अहिले पूर्ण रूपमा तालिबान लडाकुको करिब नियन्त्रणमा पुगेको छ । राष्ट्रपति अशरफ गनी देश छोडेर भागिसकेका छन् । उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि राजधानी काबुल छोडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राष्ट्रपति गनी ताजिकिस्तानतिर भागेको सुरुवाती समाचार सम्प्रेषण गरिएको छ । यद्यपि, समाचार च्यानल अलजजिराले भने गनी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्बेकिस्तानको राजधानी ताशकन्त गएको जनाएको छ । अलजजिराले राष्ट्रपतिका निजी सुरक्षाकर्मीका अनुसार भन्दै यस्तो जनाएको छ । तर, सरकारले भने यसको पुष्टि गरेको छैन ।

यसैबीच, गनीले एक फेसबुक पोस्टमार्फत अफगान नागरिकलाई सम्बोधन गर्दै राजधानी काबुल छोड्नु कठिन निर्णय भए पनि रक्तपात रोक्नका लागि आफूले यस्तो गरेको उल्लेख गरेका छन् ।

तालिबान लडाकु काबुलमा आएपछि पनि आफू त्यहीँ रहँदा हुन सक्ने झडपले लाखौँ मानिसको जीवन जोखिममा पर्न सक्ने उनको भनाइ छ ।

उनले तालिबानले तरबार र बन्दुकको बलमा जित हासिल गरेको बताएका छन् । अब देशको जनधन र प्रतिष्ठाको सुरक्षाको जिम्मेवारी तालिबानको भएको पनि उल्लेख गरेका छन् ।

बीबीसीका अनुसार अफगानिस्तानका एक उच्च अधिकारीले राष्ट्रपति गनीले देश छोडेको पुष्टि गरेका छन् ।