पुल्चोकमा राजकीय अतिथि गृह निर्माण हुने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र ४ २०७८
3.7K
SHARES

४ भदौ काठमाडौँ । नेपाल भ्रमण गर्ने विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायतका विशिष्ट अतिथिहरुलाई बस्नका लागि सुविधासम्पन्न राजकीय अतिथि गृह (स्टेट गेस्ट हाउस) निर्माण प्रक्रिया अगाडि बढेको छ ।

ललितपुरको पुल्चोकस्थित अहिलेको मन्त्री निवास परिसरमा राजकीय अतिथि गृह बनाउने प्रक्रिया अगाडि बढेको हो । करिब डेढ अर्ब रुपैयाँको लागतमा यो अतिथि गृह निर्माण गर्न लागिएको हो ।

अतिथि गृह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा विस्तृत ‘डिजाइन’ तथा ‘ड्रोइङ’को कामसमेत सम्पन्न भइसकेको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका निर्देशक दिलीपशेखर श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले भने, “विभिन्न मुलुकका राष्ट्राध्यक्ष, सरकार प्रमुख र विशिष्ट व्यक्तिहरूद्वारा समय समयमा हुने नेपाल भ्रमणको क्रममा उहाँहरूलाई कुनै होटलमा नराखी राज्यकै स्वामित्वमा रहेको अतिथि गृहमा बसोबासको व्यवस्था गर्ने गरी राजकीय अतिथि गृह निर्माण प्रक्रिया सुरु गरिएको हो ।”