नउड्ने जहाजमा निगमको लगानी, ७ बर्षमा झण्डै १० अर्ब घाटा
१३ भदौ काठमाडौँ । नेपाल वायु सेवा निगमलाई आन्तरिक उडानमा अब्बल बनाउने उद्देश्य राखेर सात वर्षअघि चीनबाट ल्याइएका ६ चिनियाँ जहाज नउडाउने निश्चय गरेर थन्क्याइएको छ । ६ वर्षमा दुई अर्ब ४८ करोड सञ्चालन घाटा भएपछि गत वर्षदेखि जहाज ‘ग्राउन्डेड’ गरिएको हो । तर, प्रशासनिक, बिमा खर्च र ऋणको बोझ बढेको बढ्यै छ ।
चीन सरकारले दुई अर्ब ९४ करोड ३० लाख रुपैयाँमा दुई जहाज अनुदान दिएको थियो भने थप चार जहाज ल्याउँदा भन्सारसहित चार अर्ब ३० करोड लगानी भएको थियो । यी ६ जहाज सञ्चालन गर्दा २०७७ असारसम्म दुई अर्ब ४८ करोड घाटा भएको थियो । सबै जहाज ‘ग्राउन्डेड’ भएपछि एक वर्षमा बिमाको रकम १२ करोड थपिएको छ । यसरी सात वर्षमा नौ अर्ब ८४ करोड खर्च गरिएका जहाज अब सञ्चालन गर्न नसक्ने गरी थन्किएका छन् । जब कि, योभन्दा एक अर्ब कम अर्थात् आठ अर्ब ८७ करोडमा निगमले दुई न्यारोबडी एयरबस किनेको थियो ।
निगमले नउड्ने जहाजमा गरेको यो लगानीबाट बुद्ध एयरले ल्याउन लागेको जस्तै ७२ सिट क्षमताका १७ वटा सेकेन्ड ह्यान्ड एटीआर विमान किन्न पुग्छ । बुद्धले फ्रेन्च–इटालियन एटीआर कम्पनीबाट १२ वर्ष उडेको एटीआर जहाज ५५ करोड रुपैयाँमा किन्न सम्झौता गरेको छ । जुन तिहारलगत्तै काठमाडौं आइपुग्दै छ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतका अनुसार अबको तीन वर्ष एटीआर–५०० सिरिजका सेकेन्ड ह्यान्ड जहाज विश्व बजारमा ५५ करोड रुपैयाँ हाराहारीमा उपलब्ध हुनेछन् ।
२०७१ वैशाखपछि पटक–पटक गरी चार वर्ष लगाएर ल्याइएकामध्ये एउटा जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटनामा परेर काम नलाग्ने भइसकेको छ भने अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका पाँच जहाजमा घामपानीले खिया लाग्दै छ । २०७१ असारदेखि आन्तरिक रुटमा उड्न थालेका चिनियाँ जहाज २०७७ साउन १५ सम्म सञ्चालनमा रहे पनि पूर्ण क्षमतामा कहिल्यै पनि उडेनन् ।
अन्तर्राष्ट्रिय विमानस्थलको रिमोट–पार्किङ–वेमा चिनियाँ जहाज ग्राउन्डेड गरिएको १३ महिना बित्यो । निगमले सञ्चालन गर्दा व्यहोरेको घाटा देखाउँदै २०७७ साउन १५ देखि जहाज उडाएको छैन ।
जहाजको ‘ग्राउन्ड बिमा’ बापत निगमले दिनको ३ लाख ५२ हजार रुपैयाँ हाराहारी बिमा प्रिमियम तिरिरहेको छ । ‘अहिले ग्राउन्डेड भएकाले उडाउँदाको भन्दा आधामात्र तिर्नुपर्ने भए पनि राष्ट्रिय बिमा कम्पनीलाई वर्षको १२ करोड ८४ लाख हाराहारी प्रिमियम तिर्नुपर्छ,’ निगमको आर्थिक विभागका एक कर्मचारीले भने, ‘यी जहाज उडाउँदा आर्थिक वर्ष २०७६/७७ मा वार्षिक २५ करोड ६९ लाख रुपैयाँ बिमाबापत खर्च भएको थियो । ग्राउन्डेड गरिएपछि यो रकम आधा तिर्नुपरेको हो ।’
यी जहाज ग्राउन्डेड गरे पनि पार्किङ, बिमा, आठ जना पाइलटको न्यूनतम तलब, डिप्रिसिएसन कट्टालगायतमा दिनहुँ १० लाखभन्दा बढी खर्च भइरहेको छ । ‘यी जहाज पार्किङमा राख्दा पनि एक दिनमा डिप्रिसिएसन कट्टा ७ लाख, बिमाबापत ३ लाख, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पार्किङ शुल्क ५ हजार ७ सय, कामविहीन पाइलटहरूलाई न्यूनतम तलब १६ हजारलगायत प्रत्यक्ष देखिने खर्च नै १० लाखभन्दा बढी छ,’ निगमका एक कर्मचारीले भने ।
निगमले चिनियाँ जहाज उडाएको दोस्रो वर्षदेखि (२०७२ साल) नै सञ्चालन गर्न नसकिने जनाउँदै आएको हो । निगमले गएको आर्थिक वर्षदेखि सरकारलाई चिनियाँ जहाज सञ्चालन गर्दा मुख्यतः ८ वटा समस्या देखिएको जनाउँदै सदाका लागि आफ्नो बेडा (फ्लिट) बाट हटाउने निर्णय गरेको थियो । सञ्चालक समितिका तत्कालीन अध्यक्ष सुशील घिमिरे नेतृत्वको बैठकले यी जहाजको बिमा रकम अन्यको दाँजोमा करिब ३५ प्रतिशतले बढी रहेको, पाइलट अभाव रहेको र निगमले नै पाइलट तयार गर्दा हाल सञ्चालनमा रहेका एयरबस ३२० का पाइलटको भन्दा महँगो पर्ने उल्लेख गरेको छ । दुवै प्रकार (एमए–६० र वाई १२–ई) का जहाज उडाउन प्रशिक्षक पाइलट अभाव रहेको, प्रशिक्षण खर्च र पार्टपुर्जा अन्य जहाजको तुलनामा ४ गुणासम्म बढी पर्ने गरेको सञ्चालक समितिले जनाएको छ । विडम्बना के छ भने उनै घिमिरे पयर्टन मन्त्रालयको सचिवका रूपमा निगमको अध्यक्ष हुँदा चिनियाँ जहाज खरिद गरे निगमले आन्तरिक उडानमा नेतृत्व गर्न सक्ने प्रतिवेदन बनाएका थिए । विस्तृत समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।