धोबीखोला करिडोरमा डुबान


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २१ २०७८
4.6K
SHARES

२१ भदौ काठमाडौं । गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौंको धोबी खोला कोरिडोर आसपासका क्षेत्र डुबानमा परेको छ । वर्षाका कारण पानी जाने निकास नहुँदा त्यस क्षेत्र डुबानमा परेको हो । कोरिडोर आसपासका क्षेत्रका केही घरहरूमा धोबी खोलाको बाढी पसेको छ ।

निरन्तरको वर्षाले मदन भण्डारी कलेज वरपरको क्षेत्र जलमग्न बनेको छ । केही घरमा पानी पसेपछि त्यहाँका मानिसको विचल्ली बनेको छ । खोला किनाराका सडकमा पानी जमेपछि विहानैबाट सर्वसाधारणको आवागमनमा समस्या भएको छ ।

पुरै क्षेत्र डुबानमा परेपछि प्रहरीको आग्रहमा आज विहान ४ः३० बजेदेखि ६ः२० बजेसम्म विद्युत काटिएको बानेश्वर नो लाइटले जानकारी दिएको छ ।

धोबी खोला कोरिडोरलाई व्यवस्थित बनाइएको भनिए पनि पानी निकास हुने ठाँउ नभएपछि त्यस क्षेत्र डुबानमा पर्दै आएको छ । त्यसैगरी पुतली सडक क्षेत्रमा पनि डुबान भएको छ ।

गएराति देखि परेको अविरल वर्षाका कारण काठमाडौंको बागमती, विष्णुमती, टुकुचा, धोविखोला लगायतका खोलाहरुमा ठूलो बाढी आएको छ ।