माधव नेपाल धोकेबाज हुन – नेता पाण्डे


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २२ २०७८
8.9K
SHARES

२२ भदौ पोखरा। आज एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल पक्षले पार्टी विभाजन गरेर धोका दिएको आरोप लगाएका छन्। कास्कीमा पार्टी कार्यकर्ता बृहत् भेलामा पाण्डेले विभाजनको बाटोले कम्युनिस्ट पार्टीलाई कमजोर पार्ने बताए। विभाजन गरेर गल्ती गरे पनि फर्केर गल्ती सच्याउन उनको आग्रह छ।

‘माधव नेपाललाई अन्तिमसम्म पार्टी नछोड्न अपिल गर्‍यौं। तर छोडेर जानुभयो, ‘उनले भने, ‘हामीले नेपाललाई धोका दिएको होइन, पार्टी फोड्ने धोकेबाज हो। उहाँले हामीलाई धोका दिनुभयो।’ पार्टीका नेतालाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गरे पनि कार्यदलले गरेको सहमति कार्यान्वयनमा माधव नेपालले चासो नदिएको उनको भनाई छ।

कार्यदलमा रहँदा आफूले गरेका काम टिपोट गरेर राखेको पाण्डेले सुनाए। ‘कार्यदलमा के गरियो भनेर भोलि चाहिन्छ भनेर डायरी बनाएको छु। कोसँग कुरा भयो, कहिले भयो, कहाँ भयो भनेर नोट गरेको छु। एउटा डायरी भरिएको छ,’ उनले भने। कम्युनिस्ट आन्दोलन असफल बनाउन देश-विदेशी शक्ति लागेको उनको भनाइ थियो। अहिलेको फुटले एमालेलाई धेरैमा १० प्रतिशत नोक्सानी हुने पाण्डेको दाबी छ।

‘कांग्रेस झगडा गर्छ फुट्दैन। वामपन्थी झगडा गर्छौं, फुट्छौं,’ उनले थपे, ‘अहिले पार्टी सम्हाल्यौं, एउटा विन्दुमा पुगेपछि समीक्षा गरौंला।’ २०५४ सालमा शक्ति आर्जन गर्न भन्दै वामदेव गौतमजीले पार्टी फुटाएको र २०५८ सालमा फेरि पार्टी एकता गर्दै महसुस गरेको पाण्डेले बताए। ‘२०५८ मा एकता गर्दै वामदेवजीले भन्नुभएको थियो, विभाजन गरेर शक्ति बढ्ने होइन रहेछ, मैले गल्ती गरेछु भनेको मैले सम्झिरहेको छु।’

नेपालले पनि पार्टी विभाजन गरी नोक्सानको बाटो समाएको उनको भनाइ थियो। ‘उहाँले शक्ति क्षय गर्ने र कमजोर बनाउने बाटोमा लाग्नुभयो। त्यसैले फर्कनुस् भन्न चाहन्छु,’ पाण्डेले अगाडि भने, ‘गल्ती त गरिसक्नुभयो, पार्टी हो फर्कनुस्, क्षमदान गर्छौं।’