एमसीसी सम्झौता : सरकारमा हुँदा प्रयास गरेकै हौँ – अध्यक्ष ओली
२४ भदौ काठमाडौं ।आज एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई आफू सरकारमा हुँदा बढाउने प्रयास गरेको तर सभामुखसहितका केही व्यक्तिले सफल हुन नदिएको बताएका छन् ।
एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा ओलीले आफूहरू अहिले प्रतिपक्षमा भएकाले अहिले केही गर्न नमिल्ने बताएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।
“हिजो हामी सरकारमा हुँदा हामीले अगाडि बढाउने प्रयास गरेका हौँ । सरकारकातर्फ हामीले संसद्मा टेबुल गरिसकेका थियौँ । तर, त्यहाँ सभामुखलगायत केही व्यक्तिको भूमिकाका कारणले यो हुन सकेन । अहिले हामी प्रतिपक्षमा छौँ । हाम्रो भूमिका बदलिएको छ ।
हिजो हामी सरकारमा हुँदा जे हामीले गरेका थियौँ, आज हामी प्रतिपक्षमा हुँदा त्यो गर्न मिल्दनै । हामीसँग सत्तारूढ पार्टीबाट कुनै निर्णय वा हामीसँग छलफल नगरेको अवस्था हो,” ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने ।