एमसीसी उपाध्यक्षलाई प्रचण्डले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र २५ २०७८
3.4K
SHARES

२५ भदौ काठमाडौं । आज अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एममीसी)का उपाध्यक्ष फतिमा सुमारले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सित भेटवार्ता गरेकी छन् ।

सुमार प्रचण्डलाई भेट्न आज बिहान उनको निवास खुमलटार पुगेकी हुन् । बिहीबार काठमाडौं आएको सुमार नेतृत्वको टोलीले यहाँका राजनीतिक दलका नेताहरूसित छुट्टाछुट्टै भेटवार्ता गरिरहेको छ । उनीहरूबीच करिब ५० मिनेट भेटवार्ता भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

भेटमा प्रचण्डले एमसीसीका सम्बन्धमा राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले सत्तारूढ गठबन्धनभित्र पनि यस विषयमा साझा धारणा बन्नुपर्ने बताए ।“दलहरुबीच राष्ट्रिय सहमति गरेर अघि बढ्दा नै राम्रो हुन्छ,” प्रेस सल्लाहकार सापकोटाले प्रचण्डको भनाइ उद्धृत गर्दै बाह्रखरीसित भने, “अहिलेको गठबन्धनमा पनि साझा धारणा बनाएर अगाडि बढ्दा राम्रो हुन्छ ।”

उपाध्यक्ष सुमारले भने आफूहरूको नितान्त सद्भावना भ्रमण भएको बताएकी थिइन् । “हामी नेपालका राजनीतिक दलहरूसँग छलफल गर्ने, गुडविल भेट गर्न आएका हौँ,” सापकोटाले सुमारको भनाइ उद्धृत गर्दै भने, “हाम्रो यो गुडविल भ्रमण हो ।”

उक्त भेटवार्तापछि सुमारले प्रचण्डपत्नी सीता दाहाललाई भेटेर उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएकी थिइन् । उनको स्वास्थ्यलाभको कामना गरेकी थिइन् ।