मुलुकको नेतृत्व गर्न हामी फेरि सफल हुनेछौँ – अध्यक्ष ओली
३ असोज काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको नेतृत्व गर्न फेरि आफूहरू सफल हुने बताएका छन् ।
संविधान दिवसको अवसरमा शुभकामना दिँदै उनले “विविध अवरोधका कारण एमालेको नेतृत्वको सरकारले चाहेर पनि गर्न बाँकी रहेका कामलाई जनताबाट थप शक्ति हासिल गरेपछि पूर्णता दिने अठोट गरेको छ । आफ्नो भूमिकाका बारेमा जनताको अदालतमा परीक्षित हुन नेकपा (एमाले) सदैव तत्पर छ । जनताकै अपार स्नेह र समर्थनबाट फेरि मुलुकको नेतृत्व गर्न हामी सफल हुनेछौँ,” विज्ञप्तिमा उल्लेख छ ।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न आफूहरूले अथक मेहनतसाथ चालेका कदमले मुलुकमा विकास र समृद्धिको नयाँ आधारशीला खडा गरेको दाबी पनि गरेका छन् ।
“अहिले नेकपा (एमाले)को भूमिका सत्तापक्षबाट प्रतिपक्षमा बदलिएको छ । तथापि, हामीले निर्माण गरेको समृद्ध नेपाल, सुखी नेपालीको आधारशीलामाथि प्रहार गर्ने र यसलाई भत्काउने प्रयासलाई हामी सफल हुन दिने छैनौँ । मुलुकको समृद्धि र जनताको सुख प्राप्तिको राष्ट्रिय आकांक्षामाथि संविधानको गलत व्याख्या गरी खडा गरिएको अवरोध र षड्यन्त्रलाई जनताको बलमा परास्त गर्न हामी सक्षम छौँ,” उनले भनेका छन् ।
संविधान जारी हुँदाका समयमा संविधानप्रति फरक मत राख्ने राजनीतिक दल एवं समूहहरू पनि नेकपा (एमाले)को नेतृत्वको सरकारले गरेका प्रयासका कारण राजनीतिको मूल प्रवाहमा सामेल भइसकेको उनको भनाइ छ ।
ओलीले जनादेशद्वारा स्थापित नेतृत्वमा युुगान्तकारी कामहरू भइरहेका बेला संविधानले परिभाषित गरेका राज्यका अंगहरूलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या/अपव्याख्याद्वारा यसमा अवरोध पुुर्याउने विडम्बनापूर्ण अवस्था आएको समेत बताएका छन् । यसले मुलुकको दूरगामी यात्रालाई अलमल्याउने काम मात्र मात्र गरेन, संविधानप्रतिको जनताको आस्थामाथि समेत चोट लगाउन पुुगेको उनको ठम्याइ छ ।
संविधानको रक्षा गर्दै यसले निर्दिष्ट गरेको दिशामा अघि बढ्न र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ अग्रसर रहन ओलीको आग्रह छ ।