भारतीय तस्करको आक्रमणबाट ३ जना सशस्त्र प्रहरी घाइते
५ असोज धनगढी । कञ्चनपुरमा भारतीय तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । सोमबार साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करहरुको समूहले आक्रमण गरेको हो ।
आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जानकारी दिएको छ । घाइतेहरुको दोधाराचाँदनीस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
नेपालतर्फ विभिन्न समान तस्करी भइरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीसँग जम्काभेट हुँदा एक्कासी उनीहरुले ढुङ्गामुढा गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र ऐरले जानकारी दिएका छन ।
तस्करहरुको समूहलाई नियन्त्रणमा लिने प्रयास गरिए पनि ३०/४० मिटर नजिकै भारतीय भूमि भएकाले उनीहरु भाग्न सफल भएको एसपी ऐरले बताएका छन । ‘हामीले नियन्त्रणमा लिने कोसिस गर्दा उनीहरु भागेर भारतीय भूमिमै प्रवेश गरेपछि एसएसबी र भारतीय प्रहरीलाई जानकारी गराएका थियौं,’ ऐरले भने, ‘तत्कालै एसएसबी र भारतीय प्रहरी घटनास्थल पुगेको थियो । उहाँहरुले हामी उक्त समूहको पहिचान गरेर कारवाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’
एसपी ऐरका अनुसार भारतीय तस्करको समूहको पहिचान भइसकेको छ । आज तस्करको समूहलाई नियन्त्रणमा लिएर कानून बमोजिम कारवाही गर्ने आश्वासन भारतीय पक्षले दिएको छ ।
नेपाल–भारत सीमा क्षेत्रमा बेलाबखत गस्तीमा खटिएका सुरक्षाकर्मीमाथि तस्करहरुको समूहबाट आक्रमण हुँदै आएको छ । पर्याप्त पूर्वतयारीको अभाव र दुवै देशका सुरक्षा अधिकारीबीचको कमजोर समन्वयका कारण यस्ता घटना दोहोरिंदै गएका छन ।