एमाले बैठक : प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन
८ असोज काठमाडौं। नेकपा (एमाले)को जारी केन्दीय समिति बैठकमा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ।
भूगोलका सात प्रदेशका सात तथा जनसंगठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले आफ्नो वितरित प्रतिवेदनमाथि छलफल गरी शनिबार दिउँसो १ बजे बस्ने अर्को बैठकमा टोली नेतामार्फत सुझाव पेश गर्ने सो पार्टीका प्रचारविभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए।
यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा ती दस्तावेश पेश हुनेछन्। बैठकमा राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओली, सांगठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए।
प्रमुख भट्टराईले पार्टीभित्रका कतिपय आन्तरिक समस्याका सम्बन्धमा छलफल गर्दै अघि बढ्ने प्रक्रिया चलिरहेको बताए। पार्टीभित्र १० बुँदे प्रस्तावको कार्यान्वयका क्रममा भएका समस्याबारे नेतृत्व तहमा छलफल भइरहेको छ।