अध्यक्ष ओलीसँग आक्रोशित हुँदै नेता रावलले यस्तो भनेपछि
८ असोज काठमाडौं।अहिले नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन्। तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि जारी भएको अन्तरपार्टी निर्देशन (अपानि) को समीक्षा गर्न माग गरेका हुन्।
रावलले १० बुँदे कार्यान्वयन नगर्ने भए खारेज गरेको घोषणा गर्न समेत चुनौती दिएका थिए। ‘१० बुँदे सहमति इमान्दारपूर्वक कार्यान्वयन र जेठ २ अघिको संगठनात्मक संरचना कायम होस्। यदि १० बुँदे कार्यान्वयन नगर्ने हो भने खारेज भयो भनेर घोषणा गर्नुस्, सक्नुहुन्छ ? भनेर भीम रावल कमरेडले भन्नुभएको छ,’ एक केन्द्रीय सदस्यले भने।
केन्द्रीय सदस्य झपट रावलले अन्तर पार्टी निर्देशिका (अपानी)को कार्यान्वयन र १० बुँदेमा इमान्दार हुनुपर्ने बताएका थिए। उनले यसबारेको बुझाइमा एकरूपता कार्यान्वयन हुनुपर्नेमा तलतल बेइमानी भएको समेत गुनासो गरेका थिए। केन्द्रीय सदस्यहरू भानुभक्त जोशी, सुरेन्द्र मानन्धर लगातयले पनि १० बुँदे इमान्दारपूर्वक कार्यान्वयन नभएको बताएका थिए।
अध्यक्ष केपी शर्मा ओलीले यसबारे स्थायी कमिटीमा छलफल गर्ने आश्वासन दिएका छन्। २७ असारमा भएको १० बुँदे कार्यान्वयन गर्ने सहमतिपछि माधवकुमार नेपाल समूहमा रहेका दोस्रो पुस्ताका नेताहरु एमालेमै बसेका थिए।