नेप्सेमा तीन दिनमै २०४ अंकको गिरावट


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज १२ २०७८
3.7K
SHARES

१२ असोज काठमाडौं । पछिल्लो तीन कारोबार दिनमा नै सेयर बजार परिसूचक नेप्सेमा २०४.३० अंकको गिरावट हुँदा नेप्से करिब ६ महिनायताकै न्यून विन्दुमा झरेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार ५.६१ अंक, सोमबार ७३ अंक र आज ७० अंकको उच्च गिरावट हुँदा बजार परिसूचक नेप्से ०७८ वैशाख १६ गतेयताकै न्यून विन्दुमा झरेको हो । वैशाख १६ गते नेप्से २६११.११ अंकमा बन्द भएको थियो ।

गएको भदौ २ गते ३१९९.०३ अंकमा बन्द भएर ३ गते ‘इन्ट्रा–डे’ कारोबारमा ३२७७.११ अंकको उच्च विन्दु कायम गरेर त्यसपछि घट्न लागेको नेप्सेमा पछिल्लो २५ करोबार दिनमा नै ६०० अंकभन्दा माथिको गिरावट भएको छ ।

आज सेयर बजार परिसूचक नेप्सेमा ७०.०१ अंकको गिरावट हुँदा २६१५.४० अंकमा बन्द भएको छ । आज इन्ट्रा–डे कारोबारमा २६०२.१९ अंकसम्म झरेपछि अन्तिम केही मिनेटमा नेप्सेमा करेक्सन भएर २६१५ अंकमा बन्द भएको छ । यस्तै, सुरुवाती समयमा देखिएको उतार–चढावमा नेप्सेले  २६९५.३५ अंकको उच्च विन्दु कायम गरेको थियो ।

बजार परिसूचकसँगै सबै उपसूचकमा पनि गिरावट भएको छ । आज नेप्सेमा वित्त कम्पनी उपसूचक सर्वाधिक ७.३७ प्रतिशत र हाइड्रोपावर उपसूचकमा ४.७४ प्रतिशतको गिरावट भएको छ । यस्तै, लगानी उपसूचक ३.९३ प्रतिशत र विकास बैंक उपसूचकमा ३.१५४ प्रतिशतको गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा १.८९ प्रतिशतको गिरावट भएको छ । आज नेप्सेमा १८६ कम्पनीको एक करोड ३० लाख ३४ हजार ८२८ कित्ता सेयर खरिद–बिक्री हुँदा पाँच अर्ब ७४ करोड ५४ लाख ८८ हजारको कारोबार भएको छ ।

नेप्सेमा उच्च अंकको गिरावट हुँदा कारोबार रकममा कुमारी बैंकले लिड गरेको छ । ६ प्रतिशत बोनस सेयरसहित ८.६७ प्रतिशत लाभांश घोषणा गरेको कुमारी बैंकको सर्वाधिक १८ करोड ८२ लाखको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्टिलरीको १७ करोड ३८ लाख, नेसनल हाइड्रोपावरको १५४ करोड ४९ लाख, आईसीएफसी फाइनान्सको  १५ करोड  ३७ लाख र एनआईसी एशिया बैंकको १४ करोड  ५५ लाखको सेयर कारोबार भएको छ ।

आज नेप्सेमा कारोबारमा आएका १८६ कम्पनी मध्ये १७३ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १० कम्पनीको मात्रै मूल्य बढेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आज कारोबारमा आएका मध्ये मनकामना स्मार्ट लघुवित्त र मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा मेगा बैंकको १.९७ प्रतिशतले बढेको छ ।

यता, हिमालयन पावर पार्टनर र नेपाल हाइड्रो  डेभलपर्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नेगेटिभ सर्किटमा बन्द हुँदा गोर्खाज फाइनान्स, जोशी हाइड्रोपावर र श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको सेयर मूल्य पनि करिब १० प्रतिशतले नै घटेको छ ।