गरिबले चुनाव जित्ने अवस्था छैन – अर्थमन्त्री शर्मा


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज १२ २०७८
5.6K
SHARES

१२ असोज काठमाडौं।आज नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख तथा अर्थमन्त्री जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित पार्टी निकट नेपाल दलितमुक्ति मोर्चा केन्द्रीय बैठकमा शर्माले यस्तो बताएका हुन्।

उनले निर्वाचन जित्नैपर्ने परिपाटी र राजनीतिमा देखिएको विकृति अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अगाल्नुपर्नेमा जोड दिए। ‘पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्न सक्छन्। ठूलो धनराशी खर्चिएर चुनाव जित्ने अवस्था तिनीहरुको छैन,’ शर्माले भने, ‘समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुनसक्छ।’

उनले निर्वाचन जित्नैपर्ने अवस्थाको अन्त्यका त्यस्तो प्रणाली नै उत्तम विकल्प भएको उल्लेख गरे। पार्टीको नीति निर्माण तहमा दलित समुदायको उचित प्रतिनिधित्वको लागि १५ प्रतिशत आरक्षणको व्यवस्था गरिएको भएपनि त्यसलाई कार्यान्वयन गर्न सेल कमिटी र टोल कमिटीहरुबाटै दलित प्रतिनिधित्व सुनिश्चित गर्दै लैजान आग्रह गरे। उनले दलित मोर्चाको नेतृत्वमा सामाजिक सांस्कृतिक आन्दोलन सशक्त बनाउदै त्यसलाई संघर्षको एजेण्डाको रुपमा अघि बढाउन आग्रह गरे।