अब बागमती र प्रदेश १ मा छिट्टै मुख्यमन्त्री फेरिन्छ – अध्यक्ष नेपाल
२३ असोज काभ्रे।आज नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरू परिवर्तन हुने बताएका छन्। नेकपा एस काभ्रेले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो कुरा बताएका हुन्।
‘प्रदेश नम्बर एक र बागमती प्रदेशमा अब छिटै नै हाम्रो पार्टीको नेतृत्वमा मुख्यमन्त्रीसहितको सरकार बन्न गइरहेको कुरा तपाईहरूलाई जानकारी गराउन चाहन्छु,’ पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले भने। कर्णाली प्रदेशमा ओलीको पार्टीलाई चुनौती दिँदै आफ्नो पार्टी सरकारमा सामेल भएको उल्लेख गर्दै उनले लुम्बिनी, प्रदेश २ र गण्डकीमा पनि छिट्टै सरकारमा सामेल हुने बताए।
उनले एमालेलाई जनताले विश्वास गरेर दिएको भोटको दुरुपयोग भएको आरोप लगाए। नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले गल्ती स्वीकारेको अवस्थामा नयाँ ढंगले सोचेर अघि बढ्न सकिने पनि संकेत गरे। उनले पार्टी विभाजन भए पनि अझै ओलीसँग सहकार्य हुन सक्ने बताए। तर ओली सुध्रिने आशा आफूले नराखेको पनि उनले बताए।
‘ओलीले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरे। पार्टीमा गलत तरिका अपनाए,’ उनले भने, ‘देशलाई राम्ररी हाँक्न सकेनन्। सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्यो। यी सबै कुराको जिम्मेवारी लिएर गल्ती स्वीकार्न तयार भएमा ओलीसँगको सहकार्यलाई नयाँ ढंगले सोच्न सकिन्छ।’
नेपालले सम्बोधनका क्रममा आफूहरु कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको उत्तराधिकारी रुपमा प्रस्तुत गरे। ‘कम्युनिष्ट पार्टीमा नेता हैन नीति र विचार प्रधान हुन्छ’ भन्ने उहाँले नै सिकाउनुभएको हो,’ उनले भने, ‘अहिले हामीले त्यसलाई अनुशरण गरिरहेका छौं।’ नेपालले आगामी निर्वाचनमा अहिलेको गठबन्धनले केन्द्रदेखि पालिकासम्म तालमेल गर्न सक्ने पनि बताए।