बडादसैंः आज नवरात्रको पाँचौँ दिन


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज २५ २०७८
10.2K
SHARES

२५ असोज काठमाडौँ । हिन्दु नेपालीहरुको महान चाड बडादशैँको आज पाँचौँ दिन, आज स्कन्दमाताको विशेष पूजा अर्चना गरिंदैछ । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पदमासना देवी पनि भन्ने गरिन्छ ।

सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजनले अलौकिक तेज र कान्तिले सु–सम्पन्न हुने धार्मिक विश्वास छ।

स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौँ दिन यीनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ।

चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गरिएको शास्त्रहरुमा उल्लेख गरिएको छ।

आजको दिन काठमाडौंमा गुह्येश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकालीलगायतका शक्तिपीठहरुमा पूजाअर्चना गर्ने भक्तजनहरुको घुइँचो लाग्छ ।

दसैंको पहिलो दिन घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने धार्मिक परम्परा रहि आएको छ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक परम्परा रहेका छ।