पीडितहरूको उद्धार र राहत वितरणमा ध्यान दिन्छौँ – प्रधानमन्त्री
७ कात्तिक काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेमौसममा आएको बाढी–पहिरोका कारण प्रभावित भएकाहरूलाई अस्थायी र स्थायी तबरले व्यवस्थापन गरिने बताएका छन् ।
बाढी पहिरोबाट पुगेको क्षतिको स्थगलगत निरीक्षण गर्न आज प्रदेश नम्बर–१ का विभिन्न जिल्ला पुगेका प्रधानमन्त्री देउवाले तत्काल अस्थायी उपाय अपनाउँदै पीडितहरूको उद्धार र राहत वितरणमा ध्यान दिइने बताए ।
“विपत्मा परेकाहरूलाई अस्थायी र स्थायी तरिकाले समाधान गर्नेछौँ, अल्पकालीन भनेको अहिले उद्धार गर्ने हो, राहत वितरण गर्ने हो,” उनले भने, “हामी क्याबिनेट बैठक बसेर थप निर्णय गर्छौँ ।”
“काठमाडौं गएर आगामी मन्त्रिपरिषद्मा तपाईंहरूको लागि दीर्घकालीन राहतको व्यवस्थापन गर्छु,” प्रधानमन्त्री देउवाले भने, ‘सरकार तपाईंहरूको साथमा छ ।”