प्रधानमन्त्रीलाई विमानस्थलमा औपचारिक विदाई नगरिने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक १२ २०७८
4.8K
SHARES

१२ कात्तिक काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेश जाँदा औपचारिक कार्यक्रमसहितको तामझाम नगर्न निर्देशन दिएका छन । सरकार प्रमुखलाई विमानस्थलमा गरिने पहिलेको जस्तो औपचारिक बिदाई र स्वागतको तामझाम नगर्न निर्देशन देउवाले दिएका हुन ।

प्रधानमन्त्री कार्यालयले आज विमानस्थलमा सलामी, औपचारिक उपस्थितिजस्ता केही पनि तडकभडक नगर्न आदेश दिएको छ । उच्च स्रोतका अनुसार आज प्रधानमन्त्रीले विमानस्थलबाट विमानतर्फ जाँदा त्यहाँको भीभीआईपी कक्ष प्रयोग गर्ने छैनन् ।

सम्भवतः दउवा सवारी साधनमा सोझै विमानसम्म पुग्नेछन । अर्को स्रोतले भनेको छ, ‘सेनाले सलामी दिने ठाउँ भएर जानु हुनेछ, तर औपचारिक केही पनि नगर्ने भनिएको छ ।’

यसभन्दा पहिले यसरी सरकार वा राष्ट्र प्रमुख विदेश भ्रमणमा जाँदा अतिविशिष्ट कक्षमा आराम र चियापान हुन्थ्यो । त्यसपछि सलामी लिएर विमानस्थलतर्फ जाने काम गरिन्थ्यो । तर, आज बिदाईका लागि सबै जनालाई ताँती लागेर विमानस्थलमा नआउन भनिएपछि प्रधानमन्त्रीको बिदाईको सिष्टम फेरिएको हो ।

प्रधानमन्त्रीको औपचारिक विदेश भ्रमणको निम्ति नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणले हिजो अपरान्हसम्म सबै तयारी पूरा गरेको बताइन्छ । उसले सलामीदेखि विमानस्थलसम्मका सबै तयारी पूरा गरेपछि हिजो साँझ एकाएक कुनै पनि तयारी नगर्न आदेश आउँदा पररास्ट्र मन्त्रालयअन्तर्गत शिष्टाचार महापालको उच्च तहसमेत अचम्भित भएको थियो ।

स्रोत भन्छ, ‘अब कोही पनि सेना, प्रहरी,सरकारी अधिकारी तथा मन्त्रीहरु चिरिच्याट्ट परेर सवारी साधन हुईंकाउँदै विमानस्थल जानु नपर्ने भएको छ ।’ यसरी प्रधानमन्त्री देउवाले पाँचौ पटक प्रधानमन्त्री भएपछिको पहिलो विदेश भ्रमणबाट बल्ल एउटा नयाँ थालनी गर्न लागेका छन ।

प्रधानमन्त्री देउवा स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP 26 मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्दैछन । नोभेम्बर १ र २ का दिन उक्त सम्मेलनमा भाग लिएर उनी स्वदेश फर्किने कार्यक्रम रहेको छ ।