प्रचण्ड र नेपाल दक्षिणपन्थी हुन् – नेता बादल
१५ कात्तिक चितवन। आज नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले एमालेले मात्र देशलाई राजनितीक स्थायित्व र समाजवादको दिशातर्फ लैजान सक्ने दाबी गरेका छन्। थापाले वर्तमान सत्ता गठबन्धन बुर्जुवाहरुको गठबन्धन भएको आरोप लगाए।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कांग्रेसको मित्रशक्ति बनेर दक्षिणपन्थी प्रवृत्तिको प्रतिनिधि बनेको आरोप पनि लगाए। एमाले भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनमा नेता बादलले अदालतको परमादेश मार्फत बुर्जुवाहरुको गठबन्धनमा कम्युनिस्ट नामका दक्षिणपन्थीहरू एकाकार भएको टिप्पणी गरे।
प्रचण्ड र नेपाल दक्षिणपन्थी भएको आरोप लगाउँदै उनले दुबै नेतालाई एमालेले परास्त गर्ने दाबी गरे। उनले कम्युनिष्ट भएर सामुहिक पद्धति र नीतिबाट नचल्ने, समाजलाई यथास्थितिमा राख्नेहरु र परिवारवादीहरु पार्टीबाट चोइटिएको बताए। थापाले चितवनमा हुने महाधिवेशनले प्रचण्ड र नेपालका बारेमा भण्डाफोर गर्ने चेतावनी दिए।