एमाले केन्द्रदेखि प्रदेश सरकारमा शून्य
१५ कात्तिक काठमाडौं। आजबाट नेकपा एमाले केन्द्रदेखि प्रदेश सरकारहरुमा शून्य अवस्थामा पुगेको छ। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै एमाले अब ७ वटै प्रदेशहरुमा प्रतिपक्षीमा पुगेको छ।
विगतमा केन्द्रदेखि ६ प्रदेशमा बहुमत सरकारको नेतृत्व गरेको एमाले प्रतिपक्षमा पुगेको हो। केपी शर्मा ओलीविरुद्ध तत्कालीन नेकपाका प्रचण्ड र माधवकुमार नेपाल एकजुट भई लागेपछि अहिलेको अवस्थासम्म देश पुगेको हो।
नेकपा विभाजन भई एमाले र माओवादी केन्द्र ब्युँतिएपछि कर्णाली प्रदेशमा फ्लोर क्रस भई माओवादी नेतृत्वको सरकार जोगिएको थियो।
सुदूरपश्चिममा पनि माओवादी नेतृत्वको सरकार जोगिए। त्यसपछि गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो। केन्द्रमा ओली नेतृत्वको सरकार ढल्यो। लुम्बिनीमा एमाले नेतृत्वको सरकार ढलेपछि दशैलगत्तै बागमतीमा पनि एमाले सरकार ढल्यो। अहिले आएर प्रदेश १ को सरकार ढल्यो।
अब स्थानीय निकायहरुमा मात्र एमालेको नेतृत्वको स्थानीय सरकार रहेको छ। ओलीले यसबीच पकडहरु गुमाउँदै गएका छन्। यो घटनाले नेकपा विभाजनपछि धक्का खाएको र एमाले विभाजनपछि झन ठूलो धक्का खाएको देखिदै गएको छ।