गरिबलाई १० हजार बाँड्ने कार्यविधि जारी, कसरी पाइन्छ ?


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १७ २०७८
3K
SHARES

१७ कात्तिक काठमाडौ। नेपाल सरकारले गरीब तथा विपन्न परिवारलाई १० हजार रुपैयाँ नगद वितरण गर्ने प्रक्रिया अघि बढाएको छ । बुधबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले कोभिड–१९ को महामारीबाट प्रभावित गरीब तथा विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि जारी गरेको हो ।

कोभिडका कारण रोजगारी तथा आय आर्जनको अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका अतिविपन्न परिवारको तत्कालको न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न नगद राहत उपलब्ध गराइने साे कार्यविधिमा उल्लेख छ । कार्यविधिअनुसार राहतस्वरूप प्रतिपरिवार १० हजार रुपैयाँका दरले नगद प्रदान गरिने छ ।

कसरी पाइन्छ ?

सरकारले जारी गरेकाे निर्देशिका अनुसार ७५३ वटा स्थानीय तहमा नै यो कार्यक्रम जाने छ । ती स्थानीय तहले रकम पाउन योग्यको सूची तयार गर्नेछन् । पैसा वितरण गर्नुअघि मन्त्रालयले कुनै राष्ट्रियस्तरको दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशन गर्नु पर्नेछ । त्यस्तो सूचना मन्त्रालय र स्थानीय तहको वेबसाइटमा समेत राख्नु पर्नेछ ।

कार्यविधि अनुसार लाभ लिन चाहने परिवारको कुनै एक सदस्यले नगद प्राप्त गर्नका लागि प्रकाशित सूचनामा तोकिएको अवधिभित्र आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपिका साथ आफू बसोबास गरेको वडा कार्यालयमा निवेदन दिनुपर्ने छ । निवेदन दिँदा अनिवार्यरूपमा निवेदकले आफ्नो बैंक खाता सम्बन्धी विवरणमा उल्लेख गर्नुपर्नेछ ।

निवेदन पेश गर्ने वडाभित्र अस्थायी बसोबास गर्दै आएका निवेदकको हकमा एकाघर परिवारको सदस्य बाहेक छिमेकमा बस्दै आएका अन्य कुनै नेपाली नागरिक वा निज बहालमा बस्दै आएको घरधनीले त्यसरी अस्थायी बसोबास गर्दै आएको व्यहोरा सनाखत गरेको हुनु पर्ने कार्यविधिमा उल्लेख छ । सरकारले प्रतिस्थापन बजेटबाट गरिब तथा बिपन्न वर्गलाई १० हजार वितरण गर्ने कार्यक्रम ल्याएकाे थियो ।