नोटमा पनि छामेर नक्कली-सक्कली छुट्याउन सकिने प्रविधि प्रयोग गरिने


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक २२ २०७८
6.5K
SHARES

२२ कात्तिक काठमाडौ । चलायमान सुरक्षण धागो राखेर मुद्रित एक हजार रुपैयाँ दरका नोट प्रचलनमा ल्याएको नेपाल राष्ट्रबैंकले एक सय र पाँच सय रुपैयाँ दरका नोटमा समेत त्यस्तै सुरक्षण विधि अपनाउने तयारी गरेको छ । चलायमान सुरक्षण धागोका कारण सक्कली र नक्कली नोट छुट्याउन निकै सजिलो भएको र यसकै कारण बजारमा एक हजार दरका नक्कली नोट भेटिने क्रम घटेको निष्कर्षमा पुगेको राष्ट्रबैंकले सय र पाँच सय दरका नोटमा पनि त्यस्तै सुरक्षण प्रविधि प्रयोग गर्ने तयारी थालेको हो ।

चलायमान सुरक्षण धागो प्रयोग भएका नोट नक्कली कि सक्कली भनी छुट्याउन आँखा नदेख्नेले समेत सजिलै सक्ने भएपछि एक हजार दरका नक्कली नोटको बिगबिगी कम भएको राष्ट्र बेंकले जनाएको छ । राष्ट्रबैंकले छामेर नै नक्कली कि सक्कली भनी पहिचान गर्न सक्ने सुरक्षण प्रविधि पहिलोपटक प्रयोग गरी केही समय अघि एक हजार दरका नोट चलनचल्तीमा ल्याएको थियो ।

राष्ट्र बैंकका मुद्रण व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले एक हजार दरका नोटमा गरिएको प्रयोग सफल भएपछि अब सय र पाँच सय दरका नोटमा पनि त्यस्तै सुरक्षण प्रविधि प्रयोग गर्ने तयारी भएको बताए । ‘हजारको नोट धेरै राम्रो रहेको भनी प्रतिक्रिया प्राप्त भएको छ,’ उनले भने, ‘त्यसकारण राष्ट्र बैंकले सय र पाँच सयको नोटमा पनि थप सुरक्षाको व्यवस्थापन गर्न चलायमान सुरक्षण धागोसहितकै नोट अगामी दिनमा छाप्नु उचित हुने देखिएकाले छलफल अघि बढाएको छ ।’