सरकारलाई सहयोग गर्न गठबन्धनले बनायो समिति
२२ कात्तिक काठमाडौं । आज सत्तारूढ गठबन्धनले सरकार सञ्चालनमा सहयोग गर्न ११ सदस्यीय समन्वय समिति बनाएको छ । आज बालुवाटारमा बसेको बैठकले उक्त समिति बनाएको हो ।
समितिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट दुई–दुई सदस्य रहने माआवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
त्यस्तै कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला सदस्य तोकिएका छन् । माओवादी केन्द्रबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम दिइएको छ । अर्को नाम पछि निर्णय हुनेछ । एकीकृत समाजवादीबाट माधवकुमार नेपालको नाम आएको छ । अर्को नाम आउन बाँकी रहेको उनले बताए ।
जनता समाजवादी पार्टी (जसपा) बाट उपेन्द्र यादवको नाम दिइएको छ । यस्तै, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहेका छन् ।
समन्वय समितिको बैठकको संयोजन हरेक पार्टीले दुई–दुई महिना गर्ने सहमति भएको छ । त्यसअनुसार पहिलो बैठकको संयोजन कांग्रेस नेता पौडेलले गर्ने नेता श्रेष्ठले बताए ।
“राष्ट्रियताको रक्षा, संविधान र लोकतन्त्रको रक्षा र संस्थागत सुद्धीकरण, सुरक्षा सुशासन, सेवा र विकास, संविधान सम्मत सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने लक्ष्य रहेको छ,” समन्वय समितिको उद्देश्यबारे उनले भने ।