माछापुच्छ्रे बैंकको साधारण सभा सम्पन्न
२६ कार्तिक पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न साधारणसभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १४ प्रतिशत लाभांश (०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै बैंकको आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रतिबेदन पनि पारित भएको छ ।
यस अवसरमा बैंकको आर्थिक बर्ष २०७७/७८ को वार्षिकको संचालक समितिको वार्षिक प्रतिवेदन , लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त भएको आर्थिक बर्ष २०७७/७८ को नाफा नोक्सान बाडँफाडँ, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण विवरणहरु पारित भएको छ ।
यसैगरी साधारणसभाले संचालक समितिमा रिक्त रहेको संचालक पदमा संचालक समितिले बाँकी कार्यकालसम्मको लागि नियुक्त गरेको संचालकहरुको नियुक्ती अनुमोदन गरिएको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैंया ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ संचित छ ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. आफ्ना १६२ वटा शाखाहरु लगायत १५४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३१६ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकङ्ग सुबिधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएमहरु मार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
साधारणसभामा शेयरधनीहरु श्रीराम गौतम, वरिष्ठ अधिवत्ता अशोक उप्रेती, अमृत दास रन्जित, अमृत रेग्मी, लवराज जोशी, कृष्ण प्रसाद अधिकारी, उद्धव घिमिरे, शिव पौडेल, चन्द्रनारायण श्रेष्ठ, अमर अधिकारीलगायतले बैंकको वार्षिक प्रतिवेदनमाथि धारणा राखेका थिए ।