यी हुन् ओलीको रोजाइमा पदाधिकारी !


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २८ २०७८
8.2K
SHARES

२८ कार्तिक काठमाडौ । अहिले नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनका लागि एकैपटक प्रतिनिधि छनोट भएसँगै पदाधिकारीका आकांक्षीले आन्तरिक दौडधुप पनि सुरु गरेका छन् । मंसिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनले २ सय २५ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्दै छ ।

नयाँ कमिटीको पदाधिकारीमा अन्य नेता पनि आकांक्षी भएकाले एमालेभित्र नेतृत्व व्यवस्थापनको विषय जटिल बन्ने देखिन्छ । अध्यक्ष केपी शर्मा ओलीनिकट मात्रै नभएर एकीकरणको प्रक्रियाबाट आएका पूर्वमाओवादी केन्द्रका नेताहरूको चाहना र दाबी पदाधिकारीमा छ ।

हाल एमालेभित्र अध्यक्ष ओली पक्ष, दसबुँदे सहमति गर्ने नेताहरू र पूर्वमाओवादी गरी तीन समूह अस्तित्वमा छन् । पदाधिकारीमा तिनै समूहका नेताको भिन्दाभिन्दै रणनीतिसहितको दाबी छ ।

ओली एकताको सन्देश दिने गरी शक्ति सन्तुलन पनि मिलाउने र अनुकूल टिम बनाउने योजनामा रहेका बेला पूर्वमाओवादी नेताहरू ओलीसँग सहकार्य गरेर धेरै पद प्राप्त गर्ने रणनीतिमा छन् भने दसबुँदे सहमति गर्ने नेताहरू सम्माजनक पद पाए सर्वसम्मतिका लागि तयार, नभए प्रतिस्पर्धामा उत्रने दाउमा छन् ।

एक वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, महासचिव पोखरेल, पूर्वमाओवादी नेता रामबहादुर थापा र स्थायी कमिटी सदस्य नेम्वाङले चाहना व्यक्त गरेका छन् । गोदावरीमा गत महिना भएको विधान महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्न माग गर्ने अधिकांश प्रतिनिधि महासचिव पोखरेलनिकट थिए ।

एमाले विधानले कुनै पनि पदाधिकारी दुई कार्यकालभन्दा बढी एउटै पदमा निर्वाचित हुन रोक लगाएका कारण महासचिव पोखरेललाई व्यवस्थापन ओलीका लागि चुनौती बनेको छ । पहिलेदेखि झिनो स्वरमा अध्यक्षमा दाबी गरेका पोखरेलले पछिल्लो समय भने ओली निर्विकल्प भएको बताउँदै आएका छन् । ओलीको सद्भाव पनि पोखरेलतर्फै रहेको नेताहरू बताउँछन् ।

सर्वसम्मत नेतृत्वमा सहमति भए रावल पनि यो पदका लागि आकांक्षी हुन् । अर्को महाधिवेशनबाट ७० वर्षे उमेर हद लाग्ने भएकाले पोखरेल र रावल अध्यक्ष नभए पनि वरिष्ठ उपाध्यक्ष बन्न चाहन्छन् । ओलीले पूर्वमाओवादी नेता थापालाई वरिष्ठ उपाध्यक्ष बनाउन नसक्ने अवस्थामा उपाध्यक्ष बनाउन सक्छन् ।

एक महासचिवमा हालका उपमहासचिव विष्णु पौडेल, नवौं महाधिवेशनमा झिनो मतले महासचिवमा पराजित सुरेन्द्र पाण्डे, लुम्बिनीका पूर्वमुख्यमन्त्री शंकर पोखरेल र गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मुख्य आकांक्षी छन् । पौडेललाई सुवास नेम्वाङसहित दसबुँदे सहमति गर्ने केही नेताको पनि समर्थन छ ।

एक उपमहासचिवका लागि हालका सचिव प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य मुख्य आकांक्षी छन् । तर ओलीको सद्भाव ज्ञवालीलाई रहेको नेताहरू बताउँछन् ।

७ सचिवमा रघुवीर महासेठ, किरण गुरुङ, छविलाल विश्वकर्मा, विष्णु रिमाल, खगराज अधिकारी, बिन्दा पाण्डे, लेखराज भट्ट, भानुभक्त ढकालसम्मको दाबी रहेको नेताहरू बताउँछन् ।

अहिले सचिवमा प्रदीप ज्ञवाली, भीम आचार्य, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र योगेश भट्टराई छन् । उपाध्यक्षको दाबी गरिरहेका टोपबहादुर रायमाझीले कम्तीमा पनि सचिव बन्ने चाहना राखेका छन् । नवौं महाधिवेशनमा ओली प्यानलबाट उठेका महासेठ र रिमाल सचिवमा पराजित भएका थिए । त्यतिबेला वामदेवनिकट किरण गुरुङ उपाध्यक्षमा पराजित भएका थिए ।