अहिले ऋण दिनै नसक्ने अवस्थामा पुगे बैंक, यस्तो छ अवस्था
२८ कात्तिक काठमाडै । अहिले लगातार निक्षेपमा गिरावट आउँदा बैंक तथा वित्तीय संस्थाहरु ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बैंकहरुको कर्जा निक्षेप (सिडी) अनुपात ८९.८७ प्रतिशत पुगेको छ । यो गत साताको अन्तिमको अद्यावधिक तथ्यांक हो । अघिल्लो साता यस्तो अनुपात ८९.६६ प्रतिशत थियो । बैंकहरुले यस्तो अनुपात ९० प्रतिशतभन्दा माथि लैजान पाउँदैनन् ।
पछिल्लो समय बैंकहरुमा निक्षेपको परिमाण घट्दो क्रममा छ । गत साता निक्षेपका साथै कर्जामा पनि गिरावट आएको छ । गएको एक सातामा बैंक तथा वित्तीय संस्थाको निक्षेप रु. १३ अर्बले घटेको छ भने कर्जा प्रवाहमा रु. १ अर्बको गिरावट आएको छ । अघिल्लो साता बैंक वित्तिय संस्थाहरुको निक्षेप रु. ४ अर्बले घटेको थियो भने कर्जा प्रवाह रु. २३ अर्बले विस्तार भएको थियो । गत साता क वर्गका वाणिज्य बैंकहरुको निक्षेपमा १५ अर्बको गिरावट आएको छ भने कर्जा २ अर्बले घटेको छ ।
राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले रु. ४७ खर्ब ८९ अर्ब निक्षेप सङ्कलन गरी रु. ४५ खर्ब २९ अर्ब कर्जा प्रवाह गरेका छन् । निक्षेप सङ्कलन र कर्जा प्रवाहको हिस्सामा ’क’ वर्गका वाणिज्य बैंकहरुको क्रमश ८८.२२% र ८८.८४% स्वामित्व रहेको छ भने बाँकी हिस्सा ’ख’ वर्गका विकास बैंक र ’ग’ वर्गका वित्त कम्पनीहरुको रहेको छ ।
भदौ महिनामा बैंक वित्तीय संस्थाको निक्षेप ५४ अर्बले बढेको थियो भने कर्जा प्रवाह १ खर्ब २५ अर्बले विस्तार भएको थियो । यस्तै असोज महिनामा निक्षेप ६७ अर्ब र कर्जा प्रवाह १ खर्ब ३२ अर्बले बढेकोमा कात्तिक लागे यता २३ दिनमा निक्षेप ५ अर्ब र कर्जा ४९ अर्बले विस्तार भएको छ ।
हाल बैंक वित्तीय संस्थाहरुको निक्षेप र कुल गार्हस्थ उत्पादनको अनुपात ११२.२५% रहेको छ भने कर्जा र कुल गार्हस्थ उत्पादनको अनुपात १०६.१६% कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउन अन्तिम साता राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को लागि सार्वजनिक गरेको मौद्रिक नीति अनुसार बैंक वित्तीय संस्थाले २०७९ असार मसान्तभित्र कायम गर्नुपर्ने अधिकतम सिडी रेसियो ९० % रहेको छ । सिसिडी रेसियोसम्बन्धी व्यवस्था खारेज भएकोले बैंक वित्तिय संस्थाहरुले आफ्नो प्राथमिक पुँजी कर्जा प्रवाहको लागि उपयोग गर्न पाएका छैनन् जसको परिणाम तरलता व्यवस्थापनमा देखिएको छ। यस्तै बैंक वित्तिय संस्थाहरुले तरलता सहज बनाउन अघिल्लो साता रु. २.२८ अर्ब रिपो लिएकोमा यस साता पनि रु. १.२ अर्बको रिपो लिएका छन् जसको वर्षिक व्याजदर ३.५% रहेको छ ।
साथै बैंक वित्तिय संस्थाहरुले कर्जा निक्षेप, नगद मौजदात अनुपात नियामकीय सीमाभित्र राख्न तथा अल्पकालीन तरलता व्यवस्थापन गर्न अन्तिम उपायको रुपमा प्रयोग गरिने अस्थायी तरलता सुबिधा गत साता पनि प्रयोग गरेका छन् । अघिल्लो साता रु. १३०.९६ अर्बको अस्थायी तरलता सुबिधा लिएकोमा यस साता रु. १५६.७७ अर्बको सो सुबिधा लिएका छन् भने आर्थिक वर्ष २०७८/७९ लागे यता रु. १४ खर्ब २२ अर्ब २३ करोड बराबरको यो सुविधा प्रयोग गरेर तरलता लिएका छन् ।