एमाले १०औं महाधिवेशनः कस्तो होला ५० लाखको अत्याधुनिक मञ्च ?
७ मंसिर चितवन । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमका लागि अत्याधुनिक मञ्च निर्माण गरिँदैछ। मञ्च निर्माणमा मात्रै ५० लाख रुपियाँ खर्च हुने भएको छ।
मञ्च व्यवस्थापन तथा स्वयंसेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले भने, “हामीले यस पटक अहिलेसम्मकै आकर्षक मञ्च बनाउने तयारी गरेका छौँ। स्थान मिलाउनेदेखि मञ्च निर्माणसम्म करिब ५० लाख रुपियाँ खर्च हुँदै छ।”
१२० फिट लम्बाइ र ६० फिट चौडा भएको मञ्च निर्माण हुने उनले जानकारी दिए । चारवटा खण्ड रहने मञ्चको मुख्य भागमा स्थायी कमिटी सदस्य, स्वदेशी तथा विदेशी पाहुनाहरू बस्नेछन्। त्यसपछि दायाँ र बायाँ भागमा केन्द्रीय सदस्यहरू बस्नेछन ।
मञ्चको अगाडि रहेको भागमा कलाकारहरूले प्रस्तुति दिने छन्। कम्युनिस्ट पार्टी स्थापना भएको ७२ वर्ष भएकाले एकै पटक ७२ जना कलाकारको आर्केस्ट्रा (धुन दिने उपकरण) बाट राष्ट्रिय गानको धुन बजाइने छ।
मञ्च निर्माणमा अहिले ५० जना स्वयंसेवक खटिएका छन्। जमिनको सतह मुख्य मञ्चबाट ४० फिट टाढा सहभागीलाई राखिने छ।