सेयर बजारका लगानीकर्ता अन्योलमा
१४ मंसिर काठमाडौ । सेयर बजारका लगानीकर्ता अन्योलमा देखिएका छन् । जसका कारण दैनिक कारोबार रकम पनि घट्न पुगेको छ । साताको तेस्रो दिन सेयर बजारमा देखिएको उतारचढावले लगानीकर्ताको अन्योलग्रस्त मनोविज्ञानको संकेत गरेको छ ।
यस दिन बजार बन्द हुँदा नेप्से झिनो विन्दुले रातो बनेको छ । तीव्र उतारचढाव देखिएको बजारले १.६४ विन्दु गमाउँदा नेप्से २६२८.३७ मा छ । दिनभरिमा नेप्सेले ४५ विन्दुको उतारचढाव देखाएको थियो । क वर्गका कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स भने झिनो विन्दुले हरियो छ । यस दिन कारोबार भएका १३ वटा समूहमध्ये ६ वटाको सूचक हरियो छ भने बाँकीको रातो छ । उकालो लाग्नेमा अगाडि देखिएका विकास बैंक र निर्जीवन बिमा समूह ०.८३ प्रतिशतले हरियो बनेका छन् । ओरालो लाग्नेमध्ये अगाडि रहेको उत्पादनमूलक समूह ०.८४ प्रतिशतले रातो छ ।
यस दिन जम्मा तीन अर्ब आठ करोड ९० लाख ४२ हजारको सेयर किनबेच भएको छ । यो अघिल्लो दिनको तुलनामा ९२ करोडले कम हो । सोमबार चार अर्ब ८९ लाख ३७ हजारको सेयर किनबेच भएको थियो ।
आज कारोबार भएका २२५ स्क्रिप्टमध्ये १०१ वटाको भाउ उकालो लाग्दा १०३ वटाको घट्न पुगेको छ । २० वटाको क्लोजिङ मूल्य स्थिर रह्यो । यस दिन सबैभन्दा बढी गुमाउनेमा इन्फिनिटी लघुवित्तका लगानीकर्ता परेका छन् । यस कम्पनीको सेयर भाउ ४.७७ प्रतिशतले घटेको छ । साम्लिङ पावर र न्यादी हाइड्रोको सेयर भाउमा भने पोजेटिभ सर्किट लागेको छ ।