कामपा र एनआइसी एसिया बैंकबीच बैंकिङ कारोबारका लागि सम्झौता
२१ मंसिर काठमाडौ । बैंकिङ कारोबार गर्नका लागि काठमाडौँ महानगरपालिका र एनआइसी एसिया बैंकबीच आज सम्झौता भएको छ । कामपाको ३२ वटै वडासहित राजस्व सङ्कलन हुने केन्द्र र समग्र बैंकिङ कामका लागि कामपाले प्रतिस्पर्धाको माध्यमबाट एनआइसीसँग सम्झौता गरेको हो ।
कामपाको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले आज उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौताबमोजिम आगामी तीन महिनाभित्र कामपाका सबै वडा र राजस्व सङ्कलन केन्द्रमा बैंकले एउटै प्रकारका काउन्टर सञ्चालन गर्नेछ । वडा कार्यालयमा सम्भव नभए नजिकै भाडामा भए पनि काउन्टर खोल्नुपर्ने सम्झौतामा उल्लेख छ । कामपालाई सेवाग्राहीले बुझाउनुपर्ने सबै प्रकारका रकम सोझै बैंकमा जम्मा गरिने छ ।