अब माओवादीको राष्ट्रिय सम्मेलनमा यसरी छानिन्छन् १५ सय प्रतिनिधि
२१ मंसिर काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनमा एक हजार ५०० प्रतिनिधि सहभागी हुने भएका छन् । आउँदो पुस ११–१३ गतेसम्म काठमाडौंमा हुने सम्मेलनका लागि एक हजार ५०० को हाराहारीमा प्रतिनिधि चयन हुने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । “भूगोल र आयोजकसमेत गरी १५ सयको हाराहारीमा प्रतिनिधि चयन हुनेछन्,” उनले भने ।
माओवादी केन्द्रमा भौगोलिक र गैरभौगोलिक गरी १० प्रदेश छन् । प्रत्येक प्रदेशबाट ३० जनाका दरले प्रतिनिधि छनोट हुनेछन । त्यसरी हेर्दा प्रदेशबाट ३०० प्रतिनिधि चयन हुनेछन् ।
त्यस्तै, माओवादी केन्द्रमा ३४ विभाग छन् । त्यहाँबाट १० प्रतिशतका दरले प्रतिनिधि छानिनेछन् । त्यस आधारमा एउटा विभागबाट तीनजनाका दरले १०२ प्रतिनिधि छानिने सचिव ढकालले बताए । केन्द्रीय कमिटी, सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी तथा सदस्य स्वतः प्रतिनिधि हुने व्यवस्था छ । केन्द्रीय कमिटीमा हाल १८० सदस्य छन् । सल्लाहकार १४९ जना छन् । ज्येष्ठ कम्युनिस्ट मञ्च १२५ सदस्यीय छ । यी स्वतः प्रतिनिधि हुनेछन् ।
केन्द्रले ५ प्रतिशत प्रतिनिधि मनोनीत गर्ने ढकालले बताए ।यही मंसिर २५ गते माओवादी केन्द्रको एकैसाथ प्रदेश अधिवेशन गरिँदै छ । त्यसपछि प्रतिनिधि चयन गर्ने माओवादीको तयारी छ ।
प्रतिनिधि शुल्क दुई हजार, खाना–बस्न आफ्नै खर्च
माओवादीको राष्ट्रिय सम्मेलनका प्रतिनिधिहरूलाई दुई हजार रुपैयाँ शुल्क तोकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको ‘अपानि’अनुसार प्रतिनिधिले दुई हजार शुल्क तिर्नुपर्नेछ । प्रतिनिधिले खाना र बस्नको व्यवस्था भने आफैँ गर्नुपर्ने सर्कुलरमा उल्लेख छ ।
“राष्ट्रिय सम्मेलनमा सहभागी हुने आयोजक एवं प्रतिनिधिहरूलाई प्रतिनिधि शुल्क रु. २,०००। (अक्षरुपी दुई हजार रुपैयाँ) प्रतिव्यक्ति तोकिएको छ । सबै प्रतिनिधिहरूले खाने, बस्नेलगायत खर्चको व्यवस्थापन स्वयं आफै गर्नुपर्नेछ । आ–आफ्ना प्रतिनिधिहरूको सम्पूर्ण व्यवस्थापनको जिम्मा सम्बन्धित प्रदेशको हुनेछ,” सर्कुलरमा भनिएको छ ।
माओवादी राष्ट्रिय सम्मेलनका लागि विभिन्न समिति गठन गरिएको छ । अध्यक्ष प्रचण्ड राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने दस्तावेजमा लेखनमा व्यस्त छन् ।
केन्द्रीय कमिटीको संख्या घटाउने तयारी, पदाधिकारी कति ?
माओवादी केन्द्रको प्रस्तावित विधानमा २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने उल्लेख छ । प्रदेश र पालिकालाई केन्द्रीकरण गर्न खोजिएको भन्दै केन्द्रीय कमिटीको संख्या कम गर्ने तयारी रहेको कार्यालय सचिव ढकालले जानकारी दिए ।
“हामीले प्रदेश र पालिकाहरूलाई कार्यकारी बनाएर लिएर गएको हुनाले केन्द्रीकरण तल गरिरहेका छौँ । हाम्रो तयारीचाहिँ केन्द्रीय कमिटीको संख्या घटाउने भन्नेमा छ । राष्ट्रिय सम्मेलनसम्म पुग्दा के अवस्था बन्छ, त्यही आधारमा निर्णय हुन्छ,” उनले भने । पदाधिकारी कति बनाउने भन्ने छलफलमा नै रहेको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बताए । “प्रदेशका पदाधिकारी सातजना हुनेछन् । केन्द्रको छलफलमा नै छ । बहुपदमा जाने हो । टुंगो लाग्न बाँकी छ,” उनले भने ।