संस्थापनइतर आ–आफ्नै बाटोमा
२४ मंसिर काठमाडौं ।अहिले नेपाली कांग्रेसको संस्थापनइतर पक्ष १४औं महाधिवेशनमा साझा उमेदवार चयन गर्न असफल भएको छ ।
बिहीबारसम्म साझा उमेदवार तय गरी आज बिहानै टिम घोषणा गरेर महाधिवेशनको उद्घाटनमा सहभागी हुने गरी नेताहरुले हिजो अबेर रातिसम्म गरेको प्रयास असफल भएको छ । तर, अझै पनि एक रात बाँकी रहेकाले रातभरमा सहमति जुटाउने प्रयास नेताहरुले छोडेका छैनन् ।
१३औं महाधिवेशनमा प्राविधिक व्यवस्थापनमा चुकैकै कारण देउवामा नेतृत्त्व गएको भन्दै आएका संस्थापनइतरका नेताहरुले यसपटक साझा उमेदवार बनाएर देउवालाई नेतृत्त्वबाट विस्थापन गर्ने बताउँदै आएका थिए । तर, यसरी घोषणा गरेका नेताहरु आपसमा मिल्न नसक्दा साझा उमेदवार चयनको प्रयाससमेत असफल भएको छ ।
संस्थापनइतरबाट रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला सभापतिको दौडमा छन् ।उनीहरुमध्ये एउटै उमेदवार हुने सर्तमा आफूहरु पछि हट्न तयार भएको अभिव्यक्ति दिएर नेता पौडेल र शशांक तयार भए पनि प्रकाशमान र शेखरले अडान कायम राखेका छन् ।