माओवादी केन्द्र चुनावमय ,प्रदेश १ मा पनि चुनाव
७ पुस विराटनगर। नेकपा माओवादी केन्द्र प्रदेश १ मा नेतृत्व चयन गर्न सहमति जुटाउने प्रयास सफल हुन नसकेपछि चुनाव हुने भएको छ। पदाधिकारी टुंगो लगाउन गठित कार्यदलले पनि सहमति खोज्न नसकेपछि निर्वाचनबाट नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाइने भएको हो। प्रदेश समितिको बैठकपछि निर्वाचन प्रक्रिया सुरु हुने माओवादीले जनाएको छ। माओवादी केन्द्र प्रदेश कमिटीको बैठक आज बस्दैछ। बैठकपछि नौ पदाधिकारीका लागि निर्वाचन गरिने नेताहरूले बताएका छन्। अध्यक्षका लागि हर्कबहादुर लावती, शिवकुमार डाँगी, मोक्साहाङ मेन्याङ्बो, ध्रुव बुढाथोकी, देवान चाम्लिङ, मोहनकुमार खत्रीलगायतको दाबेदारी छ।
निर्वाचन नै हुँदा लावती र डाँगी भिड्ने सम्भावना रहेको बुझिएको छ। गत मंसिर २५-२६ को प्रथम प्रदेश अधिवेशनमा पदाधिकारीको टुंगो नलागेपछि २७१ सदस्यीय प्रदेश कमिटी घोषणा गरिएको थियो। कमिटीका सदस्यहरूले नौ जना पदाधिकारीका लागि मतदान गर्नेछन्। ९ पदाधिकारीका लागि तीन दर्जन आकांक्षी छन्। निर्वाचनको तयारीका लागि नेताहरूको बैठक बसिरहेको प्रदेश १ सचिवका उम्मेदवार गणेश उप्रेतीले बताए। माओवादीले यसअघि वाग्मती प्रदेशमा पनि चुनावबाटै नेतृत्व चयन गरेको थियो।