एकताका लागि गजुरेलले राखे यी चार सर्त


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस ११ २०७८
11K
SHARES

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले पूर्वमाओवादी र कम्युनिष्ट पार्टीहरूबीच एकताको खाँचो रहेको बताएका छन् । उनले पुराना माओवादीहरू एकजुट हुनुपर्छ, एकताबद्ध हुनुपर्छ भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेको भन्दै त्यसका लागि आफूहरू समेत सकारात्मक भएकाे बताए ।

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै नेता गजुरेलले त्यसका लागि महाधिवेशनले महत्वपूर्ण चार निर्णयहरू लिनुपर्ने सर्त राखेका छन् ।

यी हुन् एकताका लागि गजुरेलले राखेका चार सर्तः

-महाधिवेशनले जनयुद्व सुरु गर्नुभन्दा अगाडिको केन्द्रीय समितिको बैठकले पारित गरेका निर्णय पुनस्थापित गर्नुपर्ने ।

-जुन लक्ष्य राखेर जनयुद्ध गरिएको थियो । अझै पनि त्यो अपुरो र अधुरो छ, नेपाललाई जनगणतन्त्र बनाउनका लागि तुरुन्तै अघि बढौं ।

-राष्ट्रिय स्वाधिनताका केही विषय पनि तपाईँहरूले निर्णय लिनुभयो भने राम्रो हुन्छ । अहिले चर्चामा रहेको राष्ट्रघाती एमसीसी खारेज गर्ने निर्णय गरौं ।

-नेपालले गुमाएका भूभाग नक्सामा पाए पनि वास्तविकतामा पाइएको छैन । यसकाे पनि पार्टीले निर्णय गरोस् ।

यदि यी निर्णय माओवादी केन्द्रले यस महाधिवेशनबाट पारित गरेको खण्डमा पार्टी एकताका लागि बहस गर्ने ढोका खुल्ने उनले बताए। उनले पूर्वमाओवादीहरु फेरि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेकाे समेत औंल्याए।