नेपाल कृषि क्षेत्रको विकासबाट मात्रै आत्मनिर्भर हुन्छ – अर्थमन्त्री
१६ पुस काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा बताएका छन्। अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर मात्रै देशको विकास र उन्नति सम्भव भएको उल्लेख गर्दै त्यसका लागि कृषि क्षेत्रलाई परिचालित गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रिय संघको १४औँ वार्षिक साधारणसभामा बोल्दै उनले कृषि क्षेत्रलाई व्यवस्थित, संगठित र परिचालित गरेर मुलुकको अर्थतन्त्र निर्माणका लागि राज्यले विशेष लगानी गर्नुपर्ने आवश्यकता औँल्याए।
अर्थमन्त्री शर्माले किसानहरुलाई संगठित गरेर कृषि क्षेत्रको विकासमा लगानी बढाउन पनि सहकारीहरुलाई सचेत गराए। उनले त्यसका लागि सरकारले समेत विशेष ध्यान दिने आश्वासन दिए।
अर्थमन्त्री शर्माले भने, ‘हाम्रो किसान, हाम्रो भूमि, हाम्रो हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित गरेर परिचालित गर्न सक्दामात्रै हाम्रो देशको विकास र उन्नति हुने भएकाले किसानहरुको राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका छ । र यसलाई अझ धेरै माथि उठाउनुपर्ने आवश्यकता छ।’
बारीहरु बाँझो हुँदा आयातित वस्तुहरु खाइरहनुपरेको उल्लेख गर्दै मन्त्री शर्माले उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि हाम्रो मुख्य माध्यम भनेको कृषि नै रहेको बताए।
‘कृषि क्षेत्रलाई व्यवस्थित, संगठित, परिचालित र राज्यको विशेष लगानीका आवश्यकता छ। आज कृषि क्षेत्र उपेक्षित छ । कृषि क्षेत्रले पाउनुपर्ने सेवा र सुविधा पाइरहेको छैन’, उनले भने, ‘किसानहरुले सुविधा पाइरहेका छैनन्। त्यतातिर हाम्रो ध्यानाकर्षण भएको छ।’
लाखौं किसानहरु संगठित भएका सहकारीहरुले संगठित रुपमा किसानहरुलाई व्यवसायीकरण पनि गर्ने, आत्मनिर्भर पनि बनाउने, परिचालित पनि गर्ने र देश निर्माणमा एउटा महत्वपूर्ण योगदान गर्नका लागि यो संगठन धेरै महत्वपूर्ण रहेको उनको भनाइ थियो।
उनले थपे, ‘यो संगठनको नेतृत्वमा अवको हाम्रो कृषि उत्पादनको अभियानलाई, व्यापारको अभियानलाई आत्मनिर्भर हुने अभियानलाई, राष्ट्रिय पूँजी निर्माण गर्न कृषि क्षेत्रनै महत्वपूर्ण छ । त्यसलाई उद्योगमा समेत बदल्दै अगाडि बढाउनुपर्ने आवश्यक्ता छ । त्यतातिर यहाँहरुको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’
अर्थमन्त्री शर्माले कृषि क्षेत्र र किसानहरु राज्यबाटै उपेक्षित भएको स्विकार गर्दै अब उनीहरुलाई परिचालित गरेर कृषिमा आधारित उद्यमहरु स्थापना गर्न लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे। उनले कृषि क्षेत्रलाई उद्यममा बदलेर राष्ट्रिय पुँजी निर्माण गर्ने अभियानमा सहकारी संस्थाहरुले भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे।