उपत्यकाको फोहोर नउठ्दा फैलियो दुर्गन्ध
९ फागुन काठमाडौं । स्थानीयवासीको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौँ उपत्यकाको फोहोर उठाउन सकिएको छैन । नौ दिनसम्म फोहर उठ्न नसक्दा सहरका चोक दुर्गन्धित भएको छ । हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण काठमाडौँ उपत्यकाको १८ स्थानीय तहका फोहोर उठाउन नसकिएको हो ।
कामपाले नियमितरुपमा उपत्यकाको फोहर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घकालिन समाधन खोज्न आवश्यक रहेको अन्यथा आगामी बर्खाका समयमा झन ठूलो समस्या आउने जनाइएको छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । उक्त स्थान पनि भरिएकाले फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो । हाल फोहोर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाको भनाइ छ ।