गठबन्धनको सरकार चुनावपछि पनि बन्छ – वरिष्ठ नेता पौडेल
१० फागुन काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सत्ता गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने बताएका छन्। पोखरामा नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्दै नेता पौडेलले भविष्यमा सरकार बनाउने शक्तिहरूले चुनावमा नै गठबन्धन बनाउन आवश्यक रहेको बताए।
काँग्रेससँग ३० प्रतिशतमात्र मत भएकोले पार्टीको एकल सरकार बनाउन नसकिने उनको भनाई छ। काँग्रेसभन्दा बाहिर रहेका ७० प्रतिशत मत एकै ठाउँमा गए फेरि काँग्रेस प्रतिपक्षमा सीमित रहने उनको आशंका छ। अहिलेको अवस्थामा कुनै पार्टीले एकल बहुमत जुटाउन नसक्ने भएकाले भविष्यमा सरकार बनाउने शक्तिहरूले चुनावमा नै गठबन्धन बनाउन आवश्यक रहेको पौडेलले बताए।
उनले पार्टीभित्रको गुटबन्दीलाई महाधिवेशनमा मात्र सीमित राख्न पर्ने बताए। महाधिवेशनको गुटबन्दीलाई अन्तर्घातमा पुर्याउन नहुनेमा उनको जोड छ। पौडेलले आगामी चुनावमा काँग्रेसले जनतालाई आशा जगाउने सन्देश के दिने र काँग्रेसलाई अन्तर्घातबाट कसरी बचाउने भन्नेबारेमा नेतृत्वले सोच्नुपर्ने बताए।
पौडेलले भने, ‘काँग्रेसका अगाडि ठूलो चुनौतीको पहाड छ। अबको चुनौतीको पहाड भनेको आगामी चुनाव हो। ती चुनावमा जनतामा कसरी आशा जगाउने भनेर पदाधिकारीहरूले सोच्न जरुरी छ। म अहिले उत्तर दिने ठाउँमा छैन। उत्तर दिने ठाउँमा भएका पार्टीका पदाधिकारी साथीहरूले जनतालाई आशा जगाउने सन्देश के दिने हो र काँग्रेसलाई अन्तर्घातबाट कसरी बचाउने हो सोच्नुहोला।’