आज महाशिवरात्री


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन १७ २०७८
6.5K
SHARES

१७ फागुन काठमाडौं । आज महाशिवरात्री । यो पर्व हिन्दु धर्मावलम्बीहरुको विशेष पर्व हो । हिन्दु क्यालेन्डर अनुसार फागुन कृष्ण चतुर्दशीको दिन शिवरात्री मनाइन्छ ।

आजको दिनलाई भगवा शिवको प्रिय दिन पनि भनिन्छ । शिवरात्री त्यो रात्रि हो, जसमा शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ । भगवान शिवको अति प्रिय रात्रिलाई शिवरात्री भनिन्छ । शिव पुराणको ईशान संहितामा बताइ अनुसार फागुन कृष्ण चतुर्दशीको रात्रिमा आदिदेव भगवान शिव करोडौं सूर्य समान प्रभाव भएको लिंगको रुपमा प्रकट भएका थिए ।

आजको दिन भगवान शिवको उत्पत्ति भएको दिन पनि हो । सृष्टिको प्रारम्भमा आजकै दिन मध्यरात्रि भगवान शंकर ब्रम्हाबाट रुद्रको रुपमा अवतरण भएका थिए । प्रलयको बेलामा यसै दिन भगवान शिवले तान्डव नाच्दै ब्रम्हाण्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेका गरेका थिए । यसैले आजको दिनलाई महाशिवरात्री वा कलरात्रि पनि भनिन्छ ।

आजको दिन भगवान शिवको विवाह भएको थियो । तीन लोकमध्येकै अपार सुन्दरी तथा शीलवती गौरीलाई अर्धाङ्गिनी बनाउने शिव प्रेत र पिचाशले घेरिएर रहेका हुन्थे । उनको रुप अजीब खालको थियो । शरीरमा मसानको भस्म, गलामा सर्पको हार, कन्ठमा विष, जटामा जगत–तारिणी पावन गंगा तथा माथमा प्रलयंकार ज्वाला छ ।

त्यसैगरी आजकै दिनसंग समुन्द्र मन्थनको कथा पनि जोडिएको छ । महाशिवरात्रीको दिन नै समुन्द्र मन्थन गरिरहँदा कालकेतु विष निकालिएको थियो । भगवान शिवले सम्पूर्ण ब्रम्हान्डको रक्षाका लागि ति सबै विष पिएका थिए । त्यही क्रममा उनको कन्ठ वा गला नीलो भएको थियो । त्यसैले भगवान शिवलाई नीलकण्ठ पनि भनिन्छ ।

शिवरात्रीमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् । कतिपय रातभर उपवास गर्छन् । शिवलिंगलाई पानी र बेलपत्र चढाउँछन । हिन्दु महिलाहरुका लागि शिवरात्रीको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रर्थाना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगल कामना गर्छन् ।

आज काठमाडौंको पाशुपत क्षेत्रमा विशेष मेला लागेको छ । भक्तजनहरुलाई दर्शनको व्यवस्थापनका लागि सम्पूर्ण व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पूजा र दर्शनका लागि पशुपतिनाथ मन्दिरका तीनवटा द्वाराहरु खुल्ला गरिएका छन । आज विहान ४ बजेअघि देखि नै पशुपतिनाथको दर्शनको क्रम सुरु भैसकेको छ । सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

पशुपतिनाथको दर्शन गर्नका लागि मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनका लागि मास्कको प्रयोग अनिर्वाय गरिएको छ । आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने तथा भीड बढ्ने भएका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भएकाले मास्क र स्यानिटाइजरलाई अनिवार्य गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।