एमसीसीबारे सुझबुझपूर्ण निर्णय लियौं – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन २३ २०७८
3.1K
SHARES

२३ फागुन काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटव्यूरो समितिको प्रथम बैठक अहिले बसिरहेको छ। बैठक सुरु भएलगत्तै पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा अध्यक्ष नेपालले अमेरिकी सहायता परियोजना एमसीसीबारे सुझबुझपूर्ण निर्णय लिएको बताएका छन्।

उनले एमसीसी पास भइसकेकाले अब पार्टीको सम्पूर्ण शक्तिलाई स्थानीय तह निर्वाचनमा लगाउने पनि बताए। ‘अब पार्टीको सम्पूर्ण शक्तिलाई स्थानीय तह निर्वाचनमा लाग्न आह्वान गर्छु,’ बैठकमा उनले भने, ‘हामीले एमसीसीबारे सावधानी र सुझबुझपूर्ण निर्णय गरेका छौँ।’

उनले एमसीसीबारेको निर्णयलाई सही भन्दै कसैसँग नझुक्ने बताएका छन्। ‘एमसीसीबारेको हाम्रो निर्णय सही छ,’ उनले दोहोर्‍याए, ‘राष्ट्रियताको सवालमा हामी न झुक्छौँ न बहकिन्छौँ। देशलाई केन्द्रबिन्दुमा राखेर हिँड्छौँ।’ एमसीसी संसदबाट पास गरिसकेपछि बसेको यो बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेस गर्दैछन्।

उनले एमसीसीमा समर्थन गरिसकेको राजनीतिक परिस्थितिबारे पनि रिपोर्टिङ गरिरहेका छन्। पोलिटव्यूरो समितिको प्रथम बैठकमा एमसीसीको पक्षमा उभिएपछि उत्पन्न परिस्थिति, गठबन्धनको भविष्यलगायत समसामयिक विषयमा छलफल हुने बुझिएको छ। एकीकृत समाजवादीले फागुन २५ र २६ गते केन्द्रीय समितिको पनि बैठक बोलाएको छ।