सरकारबाट कुन – कुन मन्त्री हुँदैछन् फिर्ता ?


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २ २०७८
2.6K
SHARES

२ चैत काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको छ। सो पार्टीले पूर्वसहमतिअनुसार मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको हो। मन्त्री बनाउने बेलामै ६ महिनापछि फिर्ता आउने र अरूलाई पठाउने सहमति भएको एकीकृत समाजवादी स्रोतको दाबी छ।

पूर्वसहमतिका साथै सरकारमा पार्टीको तर्फबाट सहभागी मन्त्रीले मन्त्रालयको काम प्रभावकारी रूपमा गर्न नसकेको, पार्टी र मन्त्रालयबीचको समन्वय नगरेको, पार्टी नेता कार्यकर्ताको गुनासो सम्बोधन नगरेको, मनोमानी काम गरिरहेको, कमिसनमा लिप्त भएको आरोपसमेत मन्त्रीमाथि छ।

हालै सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा समेत मन्त्रीहरूको आलोचना भएपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले मन्त्रीलाई फिर्ता बोलाएर अरू नेतालाई मन्त्री बनाउने’ विषयमा छलफल गरेको स्रोतको दाबी छ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादीले सहरी, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, श्रम मन्त्रालय पाएको छ। सहरी मन्त्रालयमा रामकुमारी झाक्री, स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेम आले, श्रममा किसान श्रेष्ठ मन्त्री रहेका छन्। यस्तै, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ रहेका छन्।

‘पूर्वसहमतिका साथै हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा मन्त्रीहरूको आलोचना भएपछि मन्त्रीलाई फिर्ता बोलाउने’ विषयमा छलफल सुरु भएको छ। मन्त्रीहरू आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा गर्न नसकेको र कमिसनको खेलमा लागेकोसम्मको आरोप बैठकमै लागेको छ,’ एकीकृत समाजवादीका एक केन्द्रीय सदस्यले भने।

मन्त्री झाक्री र खतिवडालाई फिर्ता बोलाउने’ विषयमा लगभग सहमति भइसकेको छ। अन्य मन्त्रीलाई समेत फिर्ता बोलाएर अन्य नेतालाई जिम्मेवारी दिने’ विषयमा समेत छलफल भइरहेको स्रोतको दाबी छ।

मन्त्री झाँक्रीले मन्त्रालयको काम गर्दा मनोमानी गरेको, सचिवालयका मान्छेसँग समेत छलफल नगरेको भन्दै अध्यक्ष नेपाल उनीसँग असन्तुष्ट छन्। यता मन्त्रीबाट फिर्ता हुनुपर्ने भएपछि किसान श्रेष्ठ, प्रेम आलेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको विषयमा समेत पार्टीभित्र चर्चा भइरहेको छ।

तत्कालीन एमालेमा हुँदा श्रेष्ठ र आले ओली समूहमा रहेका थिए। तर, उनीहरू नेपालले नयाँ पार्टी दर्ता गरेपछि एकीकृत समाजवादीमा मन्त्री बन्नकै लागि आएका थिए। मन्त्रीबाट हट्ने भएपछि एमालेमै फर्किने तयारीसमेत यी दुई नेताले गरेको स्रोतको दाबी छ।

सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै निर्वाचन आयोग त्यसको तयारीमा जुटिसकेको छ। १५ चैत्रदेखि निर्वाचन आचारसंहिता लागू हुने भएकाले त्यसअघि नै यी मन्त्रीहरूलाई फिर्ता बोलाउने र अरूलाई जिम्मेवारी दिने बताइएको छ।

मन्त्रीहरू फिर्ता हुने भएपछि मन्त्री बन्न एकीकृत समाजवादीका सांसदको दौडधुप सुरु भएको छ। स्रोतका अनुसार जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, निरादेवी जैरुलगायतका नेता मन्त्री बन्ने दौडमा छन्।

तर, एकीकृत समाजवादीका सचिवसमेत रहेका श्रेष्ठले मन्त्री फिर्ता बोलाउने र नयाँ बनाउने’ विषयमा आफूलाई जानकारी नभएको बताए। ‘मन्त्री फिर्ता बोलाउने, नयाँलाई पठाउने’ विषयमा आफूलाई जानकारी छैन, यो कुरा अध्यक्षज्यू वा महासचिवलाई सोध्नुहोला,’ श्रेष्ठले भने। राजधानी दैनिकमा समाचार छ।