स्थानीय निर्वाचन : कुन व्यक्ति र संस्थालाई आचारसंहिता लागू हुन्छ ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र ४ २०७८
6.8K
SHARES

४ चैत काठमाडौं। निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ। आचारसंहितामा निर्वाचनमा के गर्न हुने, के गर्न नहुने लगायतका विषय समाविष्ट छन्।

निर्वाचन ऐन २०७३ को अधीनमा रही जारी गरिएको निर्वाचन आचारसंहिता सरकारी लाभको पदमा रहेका व्यक्ति, राजनीतिक दल, उम्मेदवार, दलका प्रतिनिधि लगायतमा लागू हुने आयोगले जनाएको छ। यसभन्दा अघिल्ला निर्वाचनमा आचारसंहिता खुकुलो भए पनि यसपालि कडाइ गरिएको आयोगले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको दफा (३) मा आचारसंहिता लागू हुने व्यक्ति, संस्था, निकाय तथा अधिकारीबारे उल्लेख गरिएको छ।

आचारसंहिता लागू हुने व्यवस्था

३. आचारसंहिता लागू हुनेः यो आचारसंहिता देहायका व्यक्ति, संस्था, निकाय तथा अधिकारीलाई लागू हुनेछ।
(क) नेपाल सरकार र नेपाल सरकारका मन्त्री,
(ख) प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,
(ग) संवैधानिक निकाय र सो निकायका पदाधिकारी,
(घ) प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी,
(ङ) स्थानीय कार्यपालिका र सोका सदस्य,
(च) संघ, प्रदेश र स्थानीय तहका कर्मचारी,
(छ) सुरक्षा निकाय, सुरक्षाकर्मी र सुरक्षा सम्वद्ध कर्मचारी,
(ज) सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी,
(झ) राजनीतिक दल र दलको भातृसंगठन,
(ञ) उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि,
(ट) राजनीतिक दल तथा उम्मेदवारको मतदान एवं मतगणना प्रतिनिधि,
(ठ) सार्वजनिक पद धारण गरेको व्यक्ति,
(ड) अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता,
(ढ) पर्यवेक्षण संस्था तथा पर्यवेक्षक,
(ण) सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी,
(त) निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी,
(थ) सामुदायिक विद्यालय वा नेपाल सरकार वा प्रदेश सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी,
(द) मतदाता,
(ध) विकास साझेदार संस्था,
(न) सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी,
(प) मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था वा सो संस्थाका कर्मचारी,
(फ) निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार,
(ब) वस्तु तथा सेवा प्रदायक व्यवसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार,
(भ) आयोगले तोकेका अन्य निकाय वा व्यक्ति।

उल्लेखित व्यक्तिहरूका लागि आचारसंहिता लागू हुने आयोगले जनाएको छ।