मैले निर्वाचनमा गरेको बाचा पूरा हुने चरणमा छन् – अध्यक्ष प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १० २०७८
3K
SHARES

१० चैत चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएको निर्वाचनमा आफूले गरेको बाचा पूरा हुने चरणमा गएको बताएका छन्। माडी नगरपालिका–९ राईडाँडामा कुुसुमखोला नमूना चेपाङ बस्तीको बिहीबार उद्घाटन गर्दै प्रचण्डले बाँकी रहेका केही योजना एक वर्षभित्रमा सम्पन्न हुने बताएका हुन्। माडीमा पूर्वाधारका धेरै काम सम्पन्न भएको उनले बताए।

अध्यक्ष प्रचण्डले प्रचुर सम्भावना बोकेको माडीको विकासमा आफू लागिपरेको बताए। स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा अहिलेको सत्ता गठबन्धनसँंगै अघि बढ्ने भन्दै उनले गठबन्धन हुँदै गर्दा पनि आन्तरिक शक्ति बलियो हुनुपर्ने बताए। आउँदो निर्वाचनमा पार्टीलाई बलियो सावित गर्न गाउँ तहमा सङ्गठन बलियो बनाउनुपर्नेमा उनले जोड दिए।

सो स्थानमा ८६ घर रहेका छन्। संसद् विकास कोष, माडी नगरपालिका र दाताहरूको सहयोगमा ती घर निर्माण गरिएको हो। यसअघि उनले रु पाँच करोड ३७ लाखमा सम्पन्न माडी नगरपालिका–२ को पाँच किलोमिटर लामो चिरौली सडक उद्घाटन गरेका थिए। गत वर्ष उनले सो सडकको शिलान्यास गरेका थिए।

सङ्घीय सरकार र माडी नगरपालिकाको बजेटबाट सडक निर्माण गरिएको हो। प्रचण्डले आजै माडी नगरपालिका–७ र ८ जोड्ने हुलाकी सडकमा निर्माण गरिएको परुईखोलाको पुलको उद्घाटन गरेका थिए। सो सडकमा निर्माणाधीन १३ वटा पुलमध्ये गत साल एउटा सम्पन्न भएको थियो। बाँकी ११ पुल निर्माणाधीन अवस्थामा रहेका छन्।