गठबन्धन औपचारिक निर्णय : अन्य दलसँग चुनावी तालमेल नगर्ने समझदारी
१७ चैत काठमाडौं। सत्तारुढ पाँच दलीय गठबन्धनले आसन्न स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले स्थानीय चुनावमा गठबन्धन गरेर जाने निर्णय गरेको हो। त्यसको लागि गठबन्धनले तीन तहमा संयन्त्र बनाउने निर्णय पनि गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रदेश, जिल्ला र पालिकास्तरमा पाँच दलका नेता रहने संयन्त्र बनाउने निर्णय भएको छ।
उनकाअनुसार उक्त संयन्त्रले सम्बन्धित ठाउँमा पाँच दलीय गठबन्धनको अवस्थाबारे प्रतिवेदन बनाउनेछन्। उक्त प्रतिवेदन चैत २२ भित्र केन्द्रमा पठाइसक्नुपर्ने हुन्छ। साथै बैठकमा स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलहरूले गठबन्धन दलबीच मात्र चुनावी तालमेल गर्ने सहमतिसमेत गरेको छ। यस्तै, महानगरपालिकाको विषय केन्द्रबाट र अन्य ठाउँको तालमेलको विषय स्थानीय स्तरबाट टुंगो लगाउने सहमति पनि गठबन्धनमा भएको छ।