पल शाहलाई नवलपुर लगियो


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २२ २०७८
7.8K
SHARES

२२ चैत तनहुँ। जिल्ला कारागार तनहुँमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहलाई मंगलबार बिहान नवलपुर लगिएको छ। नवलपुर जिल्ला अदालतमा दर्ता भएको जबर्जस्ती करणी मुद्दामा थुनछेक बहसका लागि शाहलाई नवलपुर पठाइएको जिल्ला कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए।

सोमबार नवलपुर जिल्ला अदालतबाट आएको थुनछेक बहस प्रयोजनको लागि उपस्थित गराइदिनु भन्ने पत्र अनुसार शाहलाई नवलपुर पठाइएको हो। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको गत चैत १० गतेको आदेशपछि शाह पुर्पक्षका लागि थुनामा छन्।

शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा गत चैत ३ गते मुद्दा दर्ता भएको छ। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै शाहविरुद्ध नवलपुरमा मुद्दा दायर भएको थियो।

कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ। नवलपरासी पूर्वको एक रिसोर्टमा २०७७ चैत ७ गते आफूमाथि बलात्कार भएको दाबी गर्दै किशोरीले जाहेरी दिएकी थिइन्।