अहिले आफूलाई रेणुको बुवा प्रचण्ड भनिन्छ – अध्यक्ष प्रचण्ड
२३ चैत काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको परिचय फेरिएको बताएका छन् । बुधबार चितवनको भरतपुर महानगरपालिकामा आयोजित भूमिहीन दलितहरूलाई लालपुर्जा वितरण कार्यक्रममा उनले ०७४ को स्थानीय तह निर्वाचनमा रेणुको परिचय आफ्नो छोरीका रूपमा रहेको र अहिले आफूलाई ‘रेणुको बुवा’ भन्ने गरेको भन्दै खुसी व्यक्त गरे ।
प्रचण्डले महिलाले धेरै गर्न सक्छन् भन्ने देखिएको समेत बताए । उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको कामको पनि प्रशंसा गरे । अबको निर्वाचनमा महिलालाई धेरै ठाउँमा पालिका प्रमुख र मेयर बनाउने विचार रहेको उनले सुनाए । महिलाले काम गर्दा जालझेल, षड्यन्त्र कम हुने रहेछ भन्ने देखिएको उनको भनाइ छ ।