नागरिकता विधेयक एमालेका कारण पारित गर्न सकेनौं – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र २४ २०७८
12.3K
SHARES

२४ चैत काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको अवरोधका कारण संसदमा नागरिकतासम्बन्धी विधेयक पारित गर्न नसकेको बताएका छन् ।

बिहीबार सिरहामा आयोजित कार्यक्रममा उनले नागरिकता विधेयक संसदमा व्यापक छलफल गरेर पारित गर्नुपर्नेमा एमालेको अवरोधका कारण छलफल र पारित हुन नसकेको बताएका हुन् । संसद अवरोध भएपछि अध्यादेश ल्याएरै भए पनि नागरिकताको समस्या समधान गर्न खोज्दा अदालतले नागरिकतासम्न्धी अध्यादेश ल्याउन रोक लगाएको प्रचण्डले बताए ।

‘अदालतले नागरिकता दिनुपर्छ तर गम्भीर गम्भीर संवेदनशील विषय सदनमा छलफल गरेर प्रतिनिधिसभाबाट पारित गरेर समस्या गर्नुपर्छ भनेकाले अध्यादेश ल्याउन नपाइने रहेछ’ उनले भने । प्रचण्डले अघि भने, ‘त्यसो भए सदनमा लैजाऔं सदनबाटै पारित गरौं भन्ने प्रस्ताव राख्यौं, सदन कसले रोक्या छ त्यही एमाले र केपी ओली गुटले ।’

उनले अब भने संसद अधिवेशन सुरु भएपछि एमालेको अवरोधकै बीच पनि नागरिकता विधेयक पारित गर्ने बताए । ‘सदन अवरोध भए पनि बजेट र एमसीसी पारित गर्‍यौं, अब सदन खुल्नेवित्तिकै एमालेको अवरोध गरे पनि नागरिकता विधेयक पारित गरिन्छ’ उनले भने ।