बार निर्वाचन : घिमिरे समूहको अग्रता कायमै
२५ चैत काठमाडौं । नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै छ । बिहीबारसम्म ६ हजार मतगणना हुँदा अध्यक्षमा घिमिरेले तीन हजार ७२८ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार ९७७ मत प्राप्त गरेका छन् ।
नेपाल बार एसोसिएसन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठककाअनुसार काठमाडौं केन्द्रको अब एक हजार ३०० मतगणना गर्न बाँकी छ । शुक्रबार दिउँसो नै सम्पूर्ण काम सक्ने तयारी छ ।
हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको समूहको अग्रता रहेको छ । महासचिवमा अञ्जिता खनाल तीन हजार १७५ उनका प्रतिस्पर्धी केदारप्रसाद कोइराला दुई हजार ३४५ रहेको छ । कोषाध्यक्ष भरतबहादुर राउतले तीन हजार ४७५ मत र उनका प्रतिस्पर्धी जगतबहादुर कार्कीले दुईहजार १८८ मत प्राप्त गरेका छन् मङ्गलबार बिहानदेखि मतगणना सुरु भएको थियो । बिहीबारका लागि मतगणना स्थगित भएको छ भने शुक्रबार बिहान ९ बजेबाट पुनःमतगणना प्रारम्भ गरिने छ भने अन्तिम नजिता पनि आउने छ ।
बारको चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरू गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौहजार ७०८ जना अधिवक्ता मतदाता रहेका थिए । तीमध्ये सातहजार ४२९ मत खसेको थियो । रासस