सबै दृष्टिले साइकल उपयोगी – अध्यक्ष प्रचण्ड
२६ चैत चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक दृष्टिले साइकल उपयुक्त भएको बताएका छन् । प्रज्ञा–स्मृति प्रतिष्ठान नेपाल र प्रदेश खेलकुद विकास परिषद् वाग्मती प्रदेशले आज यहाँ आयोजना गरेको साइक्लिङ म्याराथन प्रतियोगिता उद्घाटन गर्दै उनले स्वास्थ्य, पर्यावरण र हरेक दृष्टिले साइकल नै उपयोगी भएको चर्चा गरे ।
यो म्याराथनले देशैभर एउटा सन्देश प्रवाह गरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भने, “देशैभर साइकलका विषयमा सन्देश प्रवाह भएको छ । पर्यावरणको संरक्षण गर्न साइकल उपयोगी छ ।”
अध्यक्ष दाहालले आज बिहान नारायणी किनारमा म्याराथन शुभारम्भ गरेका हुन् । प्रतियोगिता संयोजक शन्तकुमार दरैले प्रतियोगितामा पाँच विधा रहेको बताए । इलिट मेन १९ प्लस, इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ५० प्लस र चितवन विशेष हुन् ।
प्रथम हुने १९ वर्षमाथिका महिला तथा पुरुषलाई रु ४५ हजारका दरले, ३० वर्षमाथिको विधामा रु २५ हजार, ५० वर्षमाथिको विधामा रु २० हजार र चितवन स्पेशल विधामा महिला तथा पुरुषलाई रु २०÷२० हजारका दरले पुरस्कार रहने आयोजकले जनाएको छ । प्रतियोगितामा १०औं स्थानसम्म आउनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ ।
भरतपुर महानगरमा निर्माणाधीन रिङ्रोडसहित सडक आयोजना साइकलमैत्री रहेको सन्देश दिन र वातावरण संरक्षणमासमेत टेवा पुर्याउने उद्देश्यले साइकलको प्रयोग बढाउन प्रतियोगिता गराउन लागिएको आयोजकको भनाइ छ ।
करिब दुई घण्टाको प्रतियोगितामा लगभग ६५ किमी दुरी पार गर्नुपर्नेछ । रासस