देशको चालु खाता ४६२ अर्ब ९३ करोडले घाटामा
२९ चैत काठमाडौं। नेपाल राष्ट्र बैंकले देशको चालु खाता रु.४६२ अर्ब ९३ करोडले घाटामा रहेको जानकारी दिएको छ। राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाबारेको ८ महिने समीक्षा रिपोर्टमा यसबारे जानकारी दिएको हो।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१५१ अर्ब ४२ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ८८ करोडले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.२ प्रतिशतले कमी आई रु.७ अर्ब कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६०.० प्रतिशतले वृद्धि भई रु.१६ अर्ब ३० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु. ११ अर्ब ९१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु. १० अर्ब १८ करोड रहेको थियो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२५८ अर्ब ६४ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.६८ अर्ब १ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब १७ करोडले घाटामा रहेको छ।