आजबाट नयाँ बर्ष शुरु
१ वैशाख काठमाडौ । विक्रम संवत्को नयाँ वर्ष २०७९ सुरु भएको छ। आज वैशाख १ गते नयाँ वर्षको पहिलो दिन।
एकआपसमा शुभकामना आदानप्रदान गरी नेपालमा आज हर्षोल्लासपूर्वक नयाँ वर्ष मनाइँदै छ। विश्वर छरिएर रहेका नेपालीले पनि आज एकापसमा शुभकामना आदानप्रदान गरी नेपाली नयाँ वर्ष मनाउँदैछन्। नयाँ वर्षको अवसरमा सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ।आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन।
सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा माधव भट्टराईले बताए। सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको तर्क विज्ञहरुको छ।
सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ। कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको मानिन्छ।
आज बिहानै उठेर नुहाइधुवाई गर्ने, घरकोठा–आँगन सफा गर्ने, परिवारका सदस्य र आफन्त भेला भएर मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ।