मिथिलामा ‘जुडशीतल’ मनाइँदै
२ बैशाख महोत्तरी । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज (शुक्रबार) ‘जुडशीतल’ पर्व मनाइँदै छ । प्राचीन मिथिलामा मनाइने यो पर्व मधेसका जिल्लाका अतिरिक्त भारतका मधुवनी, झञ्झारपुर, सीतामढी र शिवहरसहितका जिल्लामा पनि प्रचलनमा छ ।
विक्रम संवत् परम्पराको प्रत्येक नयाँ वर्ष (वैशाख सङ्क्रान्ति)मा ‘जुडशीतल’ पर्व मनाइन्छ । दुई दिन मनाइने पर्व पहिलो दिन (सङ्क्रान्तिका दिन) ‘सतुवाइन’ र भोलिपल्टलाई ‘जुडशीतल’ भनिन्छ । उल्लास र सहकालको प्रतीक मानिने यो पर्वले महोत्तरीसहितका मधेस प्रदेशका प्राचीन मिथिला क्षेत्र उल्लासमय बनेका छन् ।
त्यसैगरी दोस्रो दिन आज घरपरिवारका श्रेष्ठजनले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिँदै यो पर्व मनाइने चलन छ । परम्पराअनुसार आज घर–घरमा परिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिएका छन् । नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाता बताउँछन् । यसै सन्देशको पृष्ठभूमिमा गर्मी मौसमको यो पर्वको पहिलो दिन जौँ, चना (बदाम)को सातु खाने, ख्वाउने गरिन्छ । दोस्रो दिन आज घरघरमा मुँग, चनाको दाल, सोहिजन (मुन्गा)को तरकारी, बदामको पिठोबाट बनाइएको बरी र दही मथेर करी (कढी) पकाएर खाइने परम्परा रहेको छ । पर्वमा काँचो केराको तरुवाको खुबै प्रचलन छ ।
मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको छ । खासमा यो पर्व कृषिसँग सम्बन्धित रहेको पाका मैथिल बताउँछन् । बढ्दो गर्मीबीच ‘शीतल’ जोड्न गरिने कामना पर्वको मुख्य ध्येय भएको हुँदा यो पर्वलाई ‘जुडशीतल’ भनिएको मैथिल परम्परा र संस्कृतिका जानकार तथा साहित्य साधक महोत्तरीकै जलेश्वर–६ बखरीका बासिन्दा नेपाल सरकारका अवकाशप्राप्त उपसचिव महेश्वर राय बताउँछन् । पर्वमा सहकाल (अनुकूल वर्षा र मौसम, अनिकाल व्याधीको प्रकोप नहुने)को कामना गरिने हुँदा यसको मुख्य सन्देस कृषिसँग सम्बन्धित रहेको रायको भनाइ छ ।
पर्वका लागि सामानको जोहो गर्नेहरूको भीडले सबैजसो बजार एकाबिहानै भरिभराउ छन् । बजारमा तरुवा खाइने काँचो केरा, पर्वविशेषको खास तरकारी मुन्गा र जौँको सातु तथा दलहनको वेसन (पीठो)को बिक्री बढेको व्यापारीले बताएका छन् । त्यसैगरी दही पनि पर्वको खास परिकार मानिन्छ ।
खासमा दोस्रो दिन आज हिलो छ्याछ्याप गरेर खेलिने यो पर्व किशोर र युवावयका मैथिलको पर्खाइमा हुन्छ । पछिल्लो काल नयाँ वर्षमा ‘पिकनिक’ जाने चलन बढ्दै जानुले किशोर र युवाका लागि यो पर्व थप रमाइलो बनेको छ । ‘जुडशीतल’ मिथिलाको सांस्कृतिक पर्व हो । रासस