सत्ता गठबन्धनको बैठक सर्यो
६ वैशाख काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक सरेको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको व्यस्तता र अन्य सत्ता साझेदार पार्टीको पनि बैठक दिउँसो २ बजेका लागि सारिएको हो ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको व्यस्तता र अन्य सत्ता साझेदार पार्टीको पनि बैठक रहेकोले बैठक तीन घण्टाका लागि सरेको हो। यसअघि आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो। आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिकाको चुनावी तालमेलका लागि भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्ने भएको हो।
आइतबार र सोमबार बसेको बैठकले महानगर र उपमहानगरपालिकाको सिट बाँडफाँटमा सहमति जुटाउने बुझिएको छ। काँग्रेसले काठमाडौं, ललितपुर विराटनगर र पोखरामा पनि दाबी गरेको छ। तर, एकीकृत समाजवादीले पोखरामा दाबी गरिरहेको छ।
माओवादी केन्द्रले भरतपुर महानगर र जनता समाजवादीले विराटनगर पाउने करिबकरिब सहमति जुटिसकेको बुझिएको छ। सरकारका प्रवक्तासमेत रहेका काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आज महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा सहमति जुट्ने बताए।